काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।
पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’ तामाङले भने ।