काठमाडौं । सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ । उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ ।
यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन् । सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे । तर सबै ठाउँमा खोप लगाउन पाएनन् । कारण उनको पालो आउनुअघि नै खोप सकियो । त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे। टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो ।
उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए । खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए। ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने । तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन रु खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला ? मनमा दोधार बोकेर फर्किन लागेको बताए। ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने ।
शुक्रबार नै अफगानिस्तानका लागि उडान तयार भएका पोखराका सुनिल गुरुङ र पोल्याण्ड हिँडेका म्याग्दीका तेजबहादुर थापा पनि टेकु अस्पतालमा उस्तै चिन्तामा देखिए । उनीहरूलाई शुक्रबार दिनभरिमा पिसिआर गर्ने र खोप प्रमाणीकरण गर्नु र्ने छ ।
बिहिवार दिनभर लाइन बसे पनि खोप प्रमाणीकरण हुन सकेन । बिहीबार टेकु अस्पताल पुगे पनि हजारौंको लाइन देखेपछि प्रमाणीकरण पाउने स्थिति नदेखेर उनीहरू फर्किने तरखरमा थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।