काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष यस्तो माग गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको बताएका छन् । समाजमा आतंकको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने उनको माग छ ।
शनिबार भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?’
सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भोलिपल्ट असार २९ गते एमाले नेता महेश बस्नेत समूहले युथ फोर्स गठन गरेको थियो ।
एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको भन्दै त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताएका थिए । क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरिएको छ ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि ३१ असारमा नेपाल समूहले अखिल फोर्स गठन गरेको हो । अध्यक्ष ओलीको युथ फोर्सले शनिबार भ्याली कमाण्ड समेत घोषणा गर्दैछ ।