काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव २०७७र७८ को वार्षिक वित्तीय विवरण तयार गर्दा नै असल वर्गमा वर्गीकरण भएका कर्जाको साधारण कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । यसअघि यस्तो सीमा १ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रवर्द्धन गर्न यसको सीमा बढाएको बताएको छ । यो व्यवस्थाले बढी कर्जा रहेको बैंकको मुनाफामा असर पर्न जाने देखिन्छ । चालू आवदेखि थप शून्य दशमलव ३ प्रतिशतले कर्जा नोक्सानी बेहोर्दा बैंकको नाफामा प्रभाव पार्ने बैंकरहरू बताउँछन् ।
गत जेठसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको गरेर रू। ४१ खर्ब हाराहारीमा कुल कर्जा रहेको छ । यसमध्ये खराब कर्जा, सूक्ष्म निगरानीको कर्जा र पुनर्तालिकीकरण गरिएका कर्जा बैंकहरूको करीब रू. ३९ खर्ब बराबरको असल कर्जा रहेको केन्द्रीय बैंकले बताएको छ । यसमा थप शून्य दशमलव ३ प्रतिशत नोक्सानी व्यवस्था गर्दा रू. ११ अर्ब हाराहारीमा थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।
यसले गर्दा बैंकिङ प्रणालीको खुद मुनाफा करीब रू. ७ अर्ब ४० करोडले घट्ने नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीले बताए । ‘थप कर्जा नोक्सानी व्यवस्था कायम गर्दा बैंकको नाफामा अलिकति फरक पर्छ,’ उनले अभियानसँग भने ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।