काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ ।
बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन् ।
‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने ।
जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरूको मिहेनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए ।
भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताको तर्पmबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।