काठमाडौं । उखु किसान पुनः काठमाडौं आएका छन् । उखु बिक्री गरेको रकम उद्योगले नदिएपछि उनीहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् ।
सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार आफूहरुले रकम नपाएपछि काठमाडौं आएका उखु किसानले बताएका छन् । यससँगै पाँचौँ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।
संघर्ष समितिद्वारा जारी विज्ञप्तिअनुसार ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । सरकार र उद्योगीले भुक्तानी गर्न झुलाएको उनीहरुको भनाइ छ ।
‘सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहन्छौँ’ संघर्ष समितिका सचिव हरेश्याम राय यादवले भने, ‘सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहान्छौँ ।’ सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले विज्ञप्तिमार्फत जनाएको छ ।