काठमाडाैं । माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।
सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हाे ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा राखेकाे अदालतले जनाएकाे छ । नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।
पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् ।