काठमाडौं, २७ चैत ।
तिब्बतकाका निर्वासित धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् ।
रोयटर्सका अनुसार छातिमा संक्रमण देखिएपछि ८३ वर्षीय लामा बुधबार अस्पताल भर्ना भएको उनका सहयोगीले जनाएका छन् ।
‘आज बिहान केही असुविधा भएपछि उहाँ स्वास्थ्य जाँचका लागि दिल्ली जानुभएको छ । चिकित्सकहरुले उहाँको छातिमा संक्रमण भएको जनाएका छन् र त्यसको उपचार गरिरहेका छन् । उहाँको स्वास्थ्य स्थिति अहिले स्थिर छ र अस्पतालमा थप दुई, तीन दिन रहनु हुनेछ,’ लामाका निजी सचिव तेन्जिन ताखाले भने ।
चिनियाँ शासनविरुद्ध स्वतन्त्र तिब्बतको आन्दोलन असफल भएपछि लामा सन् १९५९ मा भारततर्फ भागेका थिए । त्यसयता उनी भारतको उत्तरी पहाडी क्षेत्र धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । उनका अगुवाईहरु नेपालमा समेत छन् ।