मध्य युरोपमा पर्ने स्लोभेनिया सुन्दर पहाडी मुलकको रुपमा चिनिन्छ । साना–साना चट्ट मिलेका पहाड, सफा चौडा बाटो, रौम्य एवम् स्वच्छ वातावरण अनि अनुशासित मान्छेहरुले सबैलाई मोहित पार्छन् । प्राकृतिक रुपमा अति सुन्दर स्लोभेनिया युरोपियन युनियनको एउटा सदस्य राष्ट्र हो । पूर्वमा हङ्गेरी, पश्चिममा इटली, उत्तरमा अष्ट्रिया र दक्षिणमा क्रोयसियाको बीचमा छ, यो सुन्दर देश । जेलिया, आलु र मासु यहाँको मुख्य खाना हो । यहाँको मुख्य खेल ‘स्की’ भएतापनि धेरै किसिमका खेलकुदमा मानिसहरुको रुचि भएको पाइयो ।
७ हजार ८ सय २७ वर्ग मिटरमा फैलिएको यो सानो देशमा लगभग छब्बिस लाख जनसंख्या रहेको छ । लुब्लियाना यसको राजधानी हो । प्रायः नेपालीहरु मुस्किलले पुग्ने यस देशमा करिब ७०/८० जनामात्रै नेपाली बसोवास रहेको स्लोभेनियाको लागि नेपाली वाणिज्यदूत रहेका अश्विनी श्रेष्ठले बताउनुभएको थियो । यहाँ आर्थिक कारोबार युरोमा नै हुँदो रहेछ ।
रोग्ला, मारीवोर, रोगार्सका, लुब्लियाना, भेलेन्या, पोर्रतोरस, पीराना, कोपर, चेलीया र कुनिचा यसका मुख्य सहरहरु हुन् । जनतालाई सरकार भएको अनुभूति हुने देश र जनताप्रति सरकारलाई पूर्ण विश्वास भएको देशको रुपमा स्लोभेनियालाई लिन सकिन्छ । हुन त विकसित देशका सरकार जनताप्रति उत्तरदायी हुन्छन् नै, नत्र कसरी यत्रो विकास सम्भव छ र ? युरोपको भूमिमा उभिएर हेर्दा हाम्रो देश उनीहरुको दाँजोमा पुग्न सयौँ वर्ष लाग्न सक्छ ।
मानिसहरु बाहिर जाने योजना मौसम भविष्यवाणीका आधारमा बनाउँदा रहेछन्् । घरबाट बाहिर निस्कँदा पनि मौसमको खोजखबर गरेर मात्रै निस्कने चलन हुँदोरहेछ । हुन पनि हाम्रो जस्तो निम्छरो हुँदोरहेनछ मौसम विभाग यता । उसले भनेजस्तै हुँदोरहेछ । म डिसेम्बर २०१५ को अन्तिमतिर म त्यहाँ पुगेको थिएँ, वीरमानजीको पाहुना बन्न । उनले भनेका थिए ‘खै सर, जनवरी २ तारिखबाट हिउँ पर्छ भनेका छन् के हुन्छ हेरौँ ।’
म पहिलोपटक पुगेकोले रमाइलो लागेको ठानेको थिए तर, स्लोभियनहरु नै म भन्दा बढी रमाइरहेका थिए । मान्छेले गरे के नहुने रहेछ भन्ने प्रमाण थियो रोग्लामा । अत्याधुनिक सुविधा त्यहाँ थियो, सँगै प्रकृतिले सबै सुन्दरता त्यतै लगेर खन्याइदिएको हो कि जस्तो भान हुन्थ्यो ।
मैले नेपालको मौसम भविष्यवाणी सम्झिएर उनको कुरालाई हलुकोसित लिएको थिएँ र जिस्किँदै भनेको थिएँ –‘नेपालमा त पानी पर्छ भनेको दिनमा घाम लाग्छ, यहाँ खै के हुन्छ ।’ ‘होइन सर, यहाँ त त्यस्तो हुँदैन । हिँउ पर्छ भनेपछि हिउँ पर्छ, पानी पर्छ भनेपछि पानी पर्छ ।’ वीरमानजीले मलाई सम्झाएजसरी भने ।
मलाई हिउँ असाध्यै मन पर्छ । हिमालयको देश भने पनि मैले हिँउसँगको अनुभूति खासै साट्न पाएको थिइनँ । त्यसैले म बढी उत्साहित भएँ । हिमपातले बढाउने कठ्याङ्ग्रिँदो चिसोलाई बिर्सिएर हिउँले नुहाउँदा यहाँको सुन्दर प्रकृति अझै कति सुन्दर हुने होला भनेर पो सोच्न थालेछु । ‘युरोपको हिउँ नहेरेको मान्छेले युरोपको अनुभव छ भनेको सुहाउँदैन’ एकजना साथीले भनेका थिए । झलक्क सम्झिएँ । जे होस्, म हिउँको युरोपेली सौन्दर्यलाई आस्वादन गर्नका लागि जस्तै चिसोलाई झेल्न पनि तयार थिएँ ।
जनवरी २०१६ को पहिलो दिन । बिहानै उठेर ‘आज तपाईंलाई म रोग्ला घुमाउन लैजान्छु’ भन्दै वीरमानजी कस्सिए । आखिर म त घुम्नैको लागि आएको थिए युरोप । आन्द्रेयाले पकाएको मिठो केक र चिया पिएर हामी चेलीयामै रहेको योगा केन्द्रमा गयौं । योग शिविरको उद्घाटन समारोहमा सहभागी भएर घरमा लन्च गरेर रोग्ला हानियौँ । चेलिया शहरबाट करिब ४० किमी उत्तरमा रहेको रोग्ला हिउँ खेल्नको लागि प्रख्यातै रहेछ । स्लोभेनियाको पर्यटनको मुख्य केन्द्र बिन्दु रहेछ रोग्ला ।
बाटोमा जाँदै गर्दा मलाई नगरकोट जाने बाटो जस्तै अनुभूति भइरहेको थियो । नयाँ वर्ष भएकोले बिदाको सदुपयोग गर्न त्यहाँ भीडभाड ठूलै थियो । स्वर्ग जस्तै लाग्ने सुन्दर रोग्लाको रौनकले म एकछिन त अलमल्लै परेछु । ओहो, मान्छेहरु हिउँमा रमाइरहेका छन् । एकातिर चिसो स्याँठ चलिरहेको छ । अर्कातिर सफा घाम वरिपरि छरिएको छ । घामका किरणहरु सफेद हिउँलाई चाटीचुटी गरेर अझै स्निग्ध बनाइरहेका छन् । बच्चादेखि बूढासम्मै हिउँमा रमाइरहेका छन् । स्लोभानियाको प्रसिद्ध खेल ‘स्की’ खेल्नेहरुको भीड उत्तिकै छ ।
रोग्लामा बाह्रै महिना हिउँ पर्दो रहेछ । तालको पानीमा पनि पूरा हिउँ जमेको छ । स्की खेल्नको लागि सुरक्षित स्थानहरुको निर्माण गरिएको छ । स्की गर्दै तल पुगेपछि पुनः केबलकारबाट माथि आउने व्यवस्था पनि रहेछ । प्रकृतिले खनाएको सौन्दर्यमा मानिसको कल्पना र बुद्धिविकेक अनि मेहेनतले सिर्जना गरेको स्वर्ग थियो त्यो । शायद पुराणहरुमा वर्णित स्वर्ग यस्तै हुन्छ होला ! मानिसहरु शायद यही अनुभूति बोेकेर रमाइरहेका थिए । म पनि केही समय रमाएँ । त्यहाँको सुन्दरता मन र भौतिक दुवै क्यामरामा कैद गरियो ।
मैले स्की खेल्न जानेको थिइनँ । तर, त्यहाँ खेलेका मान्छेहरु देखेर पुरा आनन्द लिएँ । वीरमानजी यसअघि पनि धेरैपटक रोग्ला पुगेका थिए । तापनि उनको हाउभाउ देख्दा लाग्थ्यो मानौँ उनी त्यहाँ पहिलोपटक आएका थिए । वीरमानजी र मैले हिउँसँग धेरैबेर लुकामारी खेल्यौँ । त्यहाँको मनमोहक सुन्दरताले मन हरेको थियो । म पहिलोपटक पुगेकोले रमाइलो लागेको ठानेको थिए तर, स्लोभियनहरु नै म भन्दा बढी रमाइरहेका थिए । मान्छेले गरे के नहुने रहेछ भन्ने प्रमाण थियो रोग्लामा ।
अत्याधुनिक सुविधा त्यहाँ थियो, सँगै प्रकृतिले सबै सुन्दरता त्यतै लगेर खन्याइदिएको हो कि जस्तो भान हुन्थ्यो । माइनस पन्ध्रको चिसोमा पनि मन गर्मिरहेको आभास हुन्थ्योे । हिँउमा खेल्नको लागि चाहिने सबै सामानहरु हामीसँग थियो नै । दिनभरि मनमोहक रोग्लासित भुलेर सूर्य डुब्नै लाग्दा हामी पनि चेलियातिर लम्कियौँ ।