Logo
Logo

इपिएस पास गरेकालाई कोरिया पठाउन निर्देशन


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । संसदीय समितिले इपिएस परीक्षा पास गरेर बसेका करिव १० हजार कामदारलाई दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस पास गरेर बसेकालाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

कामदार पठाउन सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएपछि सुनुवाइ गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरूलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए।

इपिएस परीक्षा पास गरेका कामदारहरूलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै बैठकमा समितिका सदस्यले सरकारको चर्को आलोचना गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि प्लेनको आवश्यक व्यवस्था मिलाउन नसक्दा इपिएस पास गरेर पनि पठाउने काममा ढिलाइ भएको स्पष्टीकरण दिए।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरिया जाने कामदारका लागि कोरोनाविरुद्ध खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए भने परराष्ट्र सचिव भरतराज पौडेलले श्रम सम्झौताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्