काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अगष्ट महीना भर सातामा कुल ६७ ओटा उडान गर्ने गरी अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले उक्त अवधिभर सातामा १५ ओटा र हिमालय एयरलाइन्सले सातामा १३ ओटा उडान गर्नेछ ।
प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । नेवानिले दुबई अन्तरराष्ट्रिय विमानस्थलमा साताको दुई (सोमवार र बुधवार), मलेशियाको क्वालालाम्पुरमा साताको दुई (मंगलवार र शुक्रवार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमवार, बुधवार र शनिवार) र जापानको नारितामा हरेक बिहीवार उडान गर्ने गरी अनुमति पाएको छ ।
यसैगरी हिमालय एयरलाइन्सले मलेशियाको क्वालालाम्पुरमा आइतवार, बुधवार, बिहीवार, शुक्रवार र शनिवार गरी पाँच ओटा उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरर्पोटमा समेत हिमालयले साताको तीन (सोमवार, बुधवार र शनिवार) उडान गर्नेछ । हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमवारदेखि शुक्रवारसम्म) उडान गर्न अनुमति पाएको प्राधिकरणले बताएको छ ।
एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतवार, मंगलवार र शुक्रवार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलवार, बुधवार र शुक्रवार गरि सातामा तीन ओटा उडान गर्न अनुमति पाएको छ ।
कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक दुई ओटा उडान गर्न अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटबाट आइतवार, मंगलवार र बिहीवार नेपालमा आउन अनुमति पाएको छ । टर्किस एयरलाइन्सले सोमवार, बिहीवार र शनिवार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतवार नेपालमा उडान गर्न अनुमति पाएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।