गङ्गा, ब्रह्मपुत्र र मेघना नदीले घेरिएको ‘डेल्टा नेसन’ बङ्गलादेशमा यसपालि मनसुनी बाढी मात्र होइन, मानवीय आक्रोशको बाढीले त्यहाँका सरकार प्रमुख नै देश छाडेर भाग्नुपर्ने अवस्था आयो ।
स्वतन्त्रता सेनानीका सन्तान (जो धेरैजसो हसिनाको दल अवामी लिगसँग सम्बन्धित छन्) ले सरकारी नोकरीमा पाइरहेको ३० प्रतिशत आरक्षणविरुद्ध चर्केको आन्दोलनपछि सर्वोच्च अदालतले आरक्षण खारेज गरे पनि गिरफ्तार भएका साथीहरूको रिहाइका लागि भएको आन्दोलनमा सयौँ विद्यार्थी नेताहरू मारिए ।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिवर रहमानकी छोरी प्रधानमन्त्री सेख हसिनाले भारतमा शरण लिइरहेकी छिन् । अहिले निर्वासित नोबेल पुरस्कार विजेता तथा ग्रामीण विकास बैंकका प्रवर्तक मुहम्मद युनुसका नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
प्रधानमन्त्री नै विदेशमा निर्वासित हुनु र निर्वासित व्यक्ति नै प्रधानमन्त्री हुनु संयोग मात्र हुन सक्छ । विदेशभूमिसँग सम्बन्धित यस्तो संयोगयुक्त घटनाबारे विदेशी सञ्चारमाध्यमको दृष्टिकोण के हुन सक्ला त, एउटा रुचिको विषय हुन सक्छ । मिडियाले समाचारमा विचार त दिन सक्दैन तैपनि तिनको झुकाव कहीँ न कहीँ देखिन्छ नै ।
संयुक्त राज्य अमेरिकाको ‘द वाल स्ट्रिट जर्नल’ ‘द न्युयोर्क टाइम्स’ को अनलाइन संस्करण (अगस्ट ५) ले हसिनाका नेतृत्वमा कपडा निर्यात उद्योगमा गरिएको लगानीले अर्थतन्त्र बढेर कुनै एक विन्दुमा आयस्तर बढी छिमेकी भारतलाई समेत जितेको जनाएको छ ।
बङ्गलादेश शिक्षा, स्वास्थ्य, श्रम क्षेत्रमा महिला सहभागितामा तीव्र विकास गरेको तथा बाढी र जलवायुउत्पन्न प्रकोपविरुद्ध तयारीलाई राष्ट्रिय प्राथमिकतामा राख्न सफल भएको त्यसमा उल्लेख छ ।
बाहिरबाट हेर्दा हसिनाले प्रभावशाली नेतृत्व दिएको जनाउँदै न्युयोर्कटाइम्सले भनेको छ, “उनी सरकार प्रमुख भएर सबभन्दा बढी शासन गर्ने महिलामध्येकी हुन्, जो रङ्गीन सारीमा मुसलमान धर्मनिरपेक्ष हुन्, जसले इस्लामी सैनिकताविरुद्ध लडिन्, लाखौँलाई गरिबीबाट माथि उठाइन् र चतुर्याइँपूर्वक भारत र चीनलाई आफ्ना पक्षमा राखिन् ।”
यो देखिएको सफलताले उनले धेरै मूल्य चुकाउनुपरेको जनाउँदै पत्रिकाले भनेको छ, “आफ्नो अधिनायकवादलाई उनले दृढ रूपमा सञ्चालन गरिन् र राष्ट्रलाई विभाजनमा राखिन् । आफ्ना नजिकलाई संरक्षण, शक्ति र दण्डविहीनता पुरस्कृत गरिन् । विरोधीलाई कडा कारबाही, लामो कानुनी झमेला र कारागारमा रहनुपर्ने बनाइन् ।”
‘रोयटर्स’ ले पनि विश्वमै तीव्र वृद्धि भइरहेको अर्थतन्त्रमध्येको बङ्गलादेश ढिलो आर्थिक वृद्धि, मुद्रास्फीति र बेरोजगारीले ग्रस्त बनेको टिप्पणी गरेको छ । हसिनाका छोरा सजीव वाजेद जोयले भने आमाले सत्ता हातमा लिँदा देश गरिब र असफल राज्यका रूपमा थियो, उनको शासनकालसम्म ‘एसियाली बाघ’ का रूपमा देखापरेको भनी टिप्पणी गरेको बेलायतको सो न्युज एजेन्सीले जनाएको छ ।
मानवाधिकारवादी समूहहरूले सरकारले विरोधीहरूमाथि अत्यधिक बल प्रयोग गरेको भनी आरोप लगाएकामा हसिना र उनका मन्त्रीहरूले अस्वीकार गरेको जनाउँदै ‘रोयटर्स’ ले हसिनाको भनाइ उद्धृत गरेको छ, “जसले हिंसा अवलम्बन गरेका छन् ती विद्यार्थी होइनन्, आतङ्ककारी हुन् र तिनले मुलुकलाई अस्थिर बनाउन खोजिरहेका छन् ।”
‘अल जजिरा’ले पनि आफ्नो विचार त दिएको छैन । तर उनको दोस्रो प्रधानमन्त्रित्वकालमा प्रभावकारी आर्थिक विकास भएको नै जनाएको छ । उसले मुख्य विपक्षी दल बङ्गलादेश नेसनल पार्टी (बिएनपी) को भनाइलाई पनि प्राथमिकतापूर्वक छापेको छ ।
बेलायतमा निर्वासित बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमनको ‘एक्स’ (पहिलेको ट्विटर) मा दिइएको भनाइ यसरी उल्लेख गरिएको छ, “हसिनाको राजीनामाले जनताको शक्तिलाई प्रमाणित गरेको छ ।” देशलाई प्रजातान्त्रिक र विकसित देशका रूपमा पुनःनिर्माण गर्न आग्रह गर्दै उनले अब जनताका अधिकार र स्वतन्त्रता सुरक्षित हुने बताएका छन् ।
भारतको ‘इकोनोमिक टाइम्स’ (अगस्ट १०) ले त हसिनाका छोरा जोयले बङ्गलादेशमा हालै भएको विरोधमा आइएसआईले उक्साएको आरोप लगाएको खबर छापेको छ । एएनआईसँग कुरा गर्दै जोयले आन्तरिक अशान्तिभन्दा बाह्य शक्तिले चलाएको र आमाको भनाइलाई बङ्ग्याएर विरोधलाई बल पुर्याएको दोषारोपण गरे ।
उनका अनुसार जागिरको कोटा सरकारले नमानेको तर सर्वोच्च अदालतले पुनः स्थापना गरिदिएको हो । विरोधीसँग हतियार रहेकाले उनकी आमाले सम्भावित थप हत्या, हिंसा रोक्न आफ्नो आवास छाडेकी हुन् ।
बेलायतको प्रसिद्ध अन्तर्राष्ट्रिय मिडिया ‘बिबिसी’ ले हसिनाका पतनमा लन्डनका बङ्गलादेशी समुदायले उत्सव मनाइएको जनाएको छ । आन्दोलनलाई टुङ्ग्याउन बलिदान दिनहरूलाई आफूहरूले बिर्सन नहुने निजामती कर्मचारी सुमेना अख्तरले बिबिसीलाई बताइन् । पूर्वी लन्डनको अतलब अली पार्कमा भेला भएर उनीहरूले हसिना सत्ताबाट झरेकामा गाउने, नाच्ने र झन्डा फहराउने काम गरेर खुसी मनाए ।
अमेरिकाबाट सञ्चालित ‘फरेनपोलिसी डटकम’ ले हसिनाको पलायनले भारतले भरपर्दो एक सहयोगी गुमाएको जनाएको छ । बङ्गलादेशी जनताको आकाङ्क्षा बढेको छ र तिनले छिटो निर्वाचन पनि चाहेको अनलाइनको धारणा छ । “यदि स्वतन्त्र र स्वच्छ चुनाव भएमा बङ्गलादेशी स्वतन्त्रता सेनानीले चाहेको जस्तो उदार, धर्मनिरपेक्ष र प्रजातान्त्रिक मूल्यमान्यतायुक्त होला, नहोला, हेर्न बाँकी नै छ ”, उसले लेखेको छ ।
केही वर्षयता दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य देशमा राजनीतिक उथलपुथल र आर्थिक दुरवस्था गहिरिँदो छ । पाकिस्तान र श्रीलङ्कामा भएको राजनीतिक अस्थिरता र आर्थिक सङ्कट नेपालले पनि भोगिरहेको छ ।
सार्कको कान्छो सदस्य अफगानिस्तानको तालिबान सरकारलाई त विश्वले अझै मान्यता दिएको छैन । यसैबिच सार्कको परिकल्पनाकार, संस्थापक र कट्टर समर्थक बङ्गलादेश पनि क्षेत्रीय, उदीयमान र विश्व शक्तिहरूको चङ्गुलमा परिरहेको अवस्थामा राजनीतिक अस्तव्यस्तता भोग्न आइपुगेको छ । मुसलमान बाहुल्यको सो देशमा अल्पसङ्ख्यक हिन्दूलगायत धर्मावलम्बीको अस्तित्व पनि बचाउनुपर्ने छ ।
विद्रोहको नाममा बंगलादेशमा हिन्दू मन्दिर तोडफोड गरिएका छन् । त्यहाँका हिन्दूहरु आफूलाई असुरक्षित ठानिरहेका छन् । सार्क र बिम्स्टेक सदस्य राष्ट्र र सङ्गठन स्वयं तथा संयुक्त राष्ट्र सङ्घलगायत सङ्घसंस्थाले त्यहाँको अवस्था बिग्रन नदिन सबै पक्षको विश्वास जित्ने गरी काम गर्नुपर्ने देखिन्छ । यसै परिस्थितिमा सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई गतिशील बनाउन र मित्र राष्ट्रमा शान्तिपूर्ण रूपले समस्या हल गर्ने वातावरण बनाउन पहलकदमी लिनु आवश्यक छ ।
अहिले सार्क प्रक्रियालाई चलायमान बनाउने उपयुक्त मौका पनि हो । बङ्गलादेशको जन्ममा सहयोग गरेको र जन्मेपछिको प्रारम्भिक समर्थक नेपालले केवल केही वक्तव्य दिएर मात्र बस्न मिल्दैन ।