Logo
Logo

यसरी चल्दैन अबको राजनीति


252
Shares

अहिले देशको अवस्था बारे चासो र चिन्ता हुन थालेको छ । देशको अवस्था निर्धारण गर्ने आधार मूलतः राजनीति र अर्थ प्रणाली नै हुन् ।

राजनीतिले देश विकासको लागि विभिन्न नीति जारी गरेको हुन्छ भने तिनै नीतिको माध्यमबाट आवश्यक वित्तीय साधन स्रोतको व्यवस्थापनका विषय अर्थ प्रणालीले गरेको हुन्छ । त्यसकारण यी दुई अवयवको संयोजन उपयुक्त किसिमले गर्न सकियो भने देश विकासको कार्यमा त्यति समस्या देखिँदैनन् । तर, नेपालमा भने अहिले राजनीति र अर्थ प्रणाली नै कमजोर हुँदै गएको हुँदा जनताको जीवनस्तर खस्कँदै गएको देखिन्छ ।

अर्थतन्त्र सुधार्ने भनेकै राजनीतिले हो । राजनीतिले नै मूल्य मान्यता सिध्याएपछि अर्थतन्त्रमा संकट आउने नै भयो । राजनीतिलाई मियो मानिन्छ । मियोले बाटो बिराए पछि अन्य क्षेत्रहरू स्वतः असफल हुन्छन् । अहिले राजनीतिमा खडेरी पर्न गएको छ । सपार्ने राजनीति हुनु पर्नेमा बिगार्ने राजनीति भएको देखिन्छ । राजनीतिकै कारणबाट शिक्षा, स्वास्थ्य, रोजगारी, धर्म, संस्कृति जस्ता सबै क्षेत्र कमजोर हुँदै गइरहेको अवस्था छ ।

देशको साधन स्रोत राजनीतिक नेतृत्वको पहुँचमा हुने गर्दछ । सत्ता आफ्नो हातमा, शक्ति आफ्नो हातमा, साधन स्रोत आफ्नो हातमा पछि अनुशासनका पर्खालहरू ढल्दा रहेछन् । अनि राजनीतिमा भ्रष्टाचार र भ्रष्टाचारमा राजनीति जोडिए पछि देश विकास कसरी हुन सक्छ ? हालै प्रकाशमा आएका भ्रष्टाचारका घटनाहरू हेर्दा डराउनु पर्ने अवस्था छ । किनभने राजनीतिकर्मी बाटै ठूला ठूला भ्रष्टाचार हुन गएका छन् ।

जुन दल सत्तामा पुग्छ उही दलका नेताहरूबाट भ्रष्टाचार भएका देखिन्छन् । मानव तस्करी, नक्कली नागरिकता, नक्कली पासपोर्ट, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरणहरू जस्ता थुप्रै काण्डमा नेताहरूको नै संलग्नता देखिन्छ ।

सार्वजनिक जीवनमा रहेका व्यक्तिहरू नै अनैतिक कार्यमा लागेर देश र जनताको अस्मिता माथि धक्का दिने काम भइरहेको अहिलेको अवस्था हो । यस्ता काण्डमा उच्च ओहोदाका शक्तिशाली मन्त्री, सांसद, सचिव, बिचौलिया, ठूला घरानियाहरुको संलग्नताले नेपालको राजनीतिमा उच्च वर्गको अपराधीकरणको अवस्था छर्लंग देखिएको छ ।

यसरी भ्रष्टाचारमा संलग्न भएका व्यक्तिहरूलाई सकभर चोख्याउने काम पनि राजनीतिबाटै हुँदै आए«को देखिन्छ । जति नै मानिस अहिले भ्रष्टाचारमा मुछिएका छन् तिनीहरूको सम्बन्ध राजनीतिक नेताहरूसँग जोडिएको हुनाले राजनीतिमा अपराधीकरण र अपराधिकरणमा राजनीति जोडिएको देखिन्छ । त्यसकारणले गर्दा कतिपय भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूले उन्मुक्ति पाउने सम्भावना बढ्दै गएको छ ।

यस प्रकारका गतिविधि देशमा बढ्दै गएको हुनाले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालप्रति राम्रो धारणा छैन । देशमा भ्रष्टाचार बढ्दै गएको हुनाले वैदेशिक लगानी भित्रिन नसकेको कुरा सार्वजनिक बहसको विषय बन्न गएको छ ।

हाम्रो परराष्ट्र नीति यति अपरिपक्व छ कि जिम्मेवारी नेताहरूको अभिव्यक्तिबाटै सम्बन्ध बिग्रिने अवस्था देखिन्छ । सन्तुलित परराष्ट्र नीति कुनै पनि सरकारबाट हुन सकेको छैन । राष्ट्रिय हित विपरीत सार्वजनिक अभिव्यक्तिले आफ्नो देशलाई त यसै क्षति पु¥याएको हुन्छ मित्रराष्ट्रहरुसंगको सम्बन्ध पनि राम्रो हुन सक्दैन ।

जोसँग पैसा छ, बल छ र गुण्डागर्दी गर्ने क्षमता र भिड छ उसैले विजय प्राप्त गरेको हुन्छ । अहिले देखिएका अनुहारहरूबाट पनि यो कुरा पुष्टि हुन आउँछ । यी अनुहारहरूले वस्तु खरिद गरेजस्तो गरी धेरै अनुहार खरिद गरेका हुन्छन् । यसरी नेपालको राजनीति चलिरहेको अहिलेको अवस्था हो ।

यस्ता कुरा बुझ्दा बुझ्दै पनि राजनीतिक नेताहरूले लोक रिझ्याको लागि जथाभाबी बोलिदिँदा हाम्रो परराष्ट्र नीति नीतिको रुपमा नरहेर आलोकाँचो नीति भएको छ । दुई विशाल देशबीच रहँदा धेरै फाइदा लिन सक्ने अवसर हुँदाहुँदै पनि हामीले अवसर त यसै गुमाएका छौं सम्बन्धमा समेत आँच आउने अभिव्यक्तिबाट राज्यले धेरै दुःख पाउने अवस्था नआउला भन्न सकिँदैन । हाम्रो परराष्ट्र नीति वास्तविकता र राष्ट्रिय हितको आधारमा नभई सत्ता, शक्ति र पदलोलुपताले निर्देशित हुने गरेको छ ।

विदेशी मुलुकलाई जति नै होच्याएर बोले पनि र गाली गलौच गरेपनि आखिरमा शरणपर्ने ठाउँ त त्यही नै हो । अस्पताल तिनीहरूले बनाई दिएका छन् । विद्यालय, विश्वविद्यालय निर्माणमा उनीहरूकै सहयोग लिएका छौँ । खानेपानी तथा पूर्वाधार निर्माणमा उनीहरूकै योगदान रहेको छ ।

दैविकप्रकोपमा उनीहरू बाटै उद्धार भएको छ । उनीहरूले सहयोग नगरेको र निर्माण नगरेको कुनै पनि क्षेत्र छैन । अनि उनीहरूलाई नै गाली गर्ने । यो कस्तो किसिमको नैतिक आचरणमा नेपाली राजनीति विकास भएको रहेछ , बुझ्न कठिन छ ।

माग्न प¥यो भने हामी यति तल झरेर मागेका हुन्छौँ कि राँगा भैँसी माग्न पनि पछि पर्दैनौ । हो दाताले दिएको सहायता स्वीकार गर्नु पर्दछ । त्यसका पनि त सीमा हुन्छन् । हाम्रो राजनीतिले परिश्रम गर्न सिकाएन । विकास गर्न सिकाएन । मागेर बाँच्ने कला सिकाइरहेको छ । स्वाभिमान नेपालीको लागि यो दुःख लाग्ने कुरो हो ।

कुनै पनि दल नेतृत्वमा आए पछि जनताका पक्षमा केही गरेको देखिँदैन । उनीहरूको मुख्य उद्देश्य भनेको आफ्नो दललाई कसरी सत्तामा टिकाइरहने भन्ने मात्र देखिन्छ । राष्ट्रिय स्वार्थका विषयहरू सबै ओझेलमा परेका हुन्छन् । सत्ता, शक्ति र पद हाबी भए पछि जे कुरा पनि सम्भव हुँदो रहेछ । अहिले यही भइरहेको छ । नेतृत्वले जे गरेर पनि नेतृत्व समाल्नु छ ।

कार्यकर्ताहरूले फाइदा लिनु छ । अनि बिचौलियाहरूले जोडघटाउ गरेर नेतालाई खुसी पार्नु छ । यसकारणले गर्दा नेपालको राजनीति माथि जान सकेको छैन र प्रत्येक दिन क्षयीकरण हुँदै गएको देखिन्छ । देशको यस्तो अवस्था ल्याउन जनताले निश्चय नै राजनीतिक परिवर्तन ल्याएका थिएनन् ।

ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेका थिएनन् होला । तर, यस्ता कुरा राजनीतिले बुझ्नै सकेन । अहिले दलहरू र तिनका नेता कार्यकर्तालाई केही रमाइलो लागेको होला तर देश र जनता भने रोई नै रहेको अवस्था छ । यसकारण नेपाली जनताले दुःख पाएको अरू केही नभई स्वार्थी राजनीति नै हो ।

भ्रष्टाचारको कुरो गर्दा सहकारी प्रकरण आइहाल्छ । देशभर छरिएर रहेका सहकारीमा कतै न कतै जनताको बचत रकम हिनामिना भएको तथ्य अहिले खुल्दै आएको छ । सहकारी घोटलामा हालै पूर्व गृहमन्त्री हिरासतमा रहेका छन् । अन्य नेता , कार्यकर्ता र बिचौलियाहरू पनि सम्मिलित भएका देखिन्छन् ।

अहिले जल्दोवल्दो विषय यही भएको छ । सहकारीको ठुलो रकम अपचलन गर्ने अधिकांश राजनीति नेता , उनीहरूका परिवार र आसेपासे नै छन् । यति ठूलो रकम अहिले एकैचोटी हिनामिना भएको होइन । समयमा नै अनुगमन तथा कारबाही भएको भए यति ठूलो दुर्घटना हुने थिएन ।

राजनीति संरक्षण भएको कारणले गर्दा सार्वजनिक हुन सकेन र कतिपय राजनीतिकर्मीहरूले नक्कली सम्बन्ध विच्छेद गराएर उन्मुक्ति पाउने उपाय गरेको कुरा पनि अहिले सार्वजनिक बहसको विषय बन्न पुगेको छ । यसरी हाम्रो राजनीति देश र जनतामुखी नभएर सत्ता र नेतामुखी हुँदै गएको देखिन्छ ।

लोकतन्त्रमा निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तर, हामी कहाँ भने कसरी जनप्रतिनिधिहरू निर्वाचित हुन्छन् भन्ने कुरा भनिरहनु पर्दैन । भनिन्छ निर्वाचन भनेको मनि, मसल र मुस्कण्डको खेल हो । राजनीति गर्न कुनै प्रकारको आचरण र इमानदारीको आवश्यकता पर्दैन ।

जोसँग पैसा छ , बल छ र गुण्डागर्दी गर्ने क्षमता र भिड छ उसैले विजय प्राप्त गरेको हुन्छ । अहिले देखिएका अनुहारहरूबाट पनि यो कुरा पुष्टि हुन आउँछ । यी अनुहारहरूले वस्तु खरिद गरेजस्तो गरी धेरै अनुहार खरिद गरेका हुन्छन् । त्यसकारण उलफट्याङ् कुरा ग¥यो, भिड जम्मा ग¥यो, जथाभाबी बोल्यो, अनि ताली खायो राम्रो नेता भइहाल्यो । यसरी नेपालको राजनीति चलिरहेको अहिलेको अवस्था हो ।

जागरूक नेपालीले धेरै कुरा बुझी सकेका छन् । विश्वपरिवेशलाई बुिझसकेको हुनाले यसरी अव राजनीति चल्न सक्दैन । राजनीति बुझेकै हुनाले नेपालमा विभिन्न परिवर्तन भई नै रहेका छन् । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाइएको हो ।

उत्कृष्ट शासन प्रणाली हुँदैमा केही हुँदो रहेनछ । मुख्य जड भनेको शासन चलाउनेमा भर पर्ने रहेछ । पात्र खराब भए पछि जनताले दुःख पाउने नै रहेछन् । जनता जागरूक भए भने राजनीतिक परिवर्तन ल्याउन त्यति कठिन नहुने उदाहरण केही समय अघि श्रीलङ्कामा नेताहरूलाई लौरो लगाई लखेटको कुरालाई हाम्रो नेता तथा कार्यकर्ताले बिर्सनु हुँदैन ।

अहिले देशमा राजनीति मात्र बिग्रिएको होइन कि अर्थतन्त्र पनि संकटोन्मुखमा देखिन्छ । सरकारले थोरै मात्र पुँजीगत कार्यक्रममा बजेट विनियोजन गर्छ । त्यो पनि खर्च गर्न सक्दैन । पुँजीगत बजेट खर्च नहुँदा शिक्षा, स्वास्थ्य, निर्माण, यातायात, खानेपानी जस्ता आधारभूत क्षेत्रको विकास हुन नसकेको परिणामस्वरूप जनताको आयस्तर खस्किँदै गएको छ ।

अर्को तर्फ चालुगत बजेट भने पूरै खर्च हुने गरेको छ । जुन खर्च वितरणमुखी छ त्यो भने सबै खर्च गरेको हुन्छ । खर्च गर्नु पर्ने पुँजीगत थियो तर खर्च हुन्छ चालुगतमा । यसरी भुइँमान्छेको जीवनस्तर उठाउने क्षेत्रमा खर्च नगर्ने, जहाँ अनुत्पादक क्षेत्र छ त्यहाँ भने खर्च गर्दा अपेक्षित उपलब्धि हुन नसकेको अहिलेको अवस्था हो ।

अर्को तर्फ भुइँमान्छेको लागि दैनिकी चलाउन समस्या छ । प्रतिव्यक्ति आय मुस्किलले १४ सय अमेरिकी डलर पुगेको छ । यो सालाखाला औसत भएको हुनाले गरिबीको रेखामुनीको संख्या करिब ६२ लाखको वरिपरि छ । यति ठूलो जनसंख्यालाई गरिबीको पीडामा पु¥याउने काम कसले ग¥यो सबैले बुझेकै विषय हो ।

देश बनाउन भन्दै २५ खर्व भन्दा बढी ऋण लियौँ । प्रत्येक नेपाली बच्चा जन्मन नपाउँदै ८६ हजारको ऋण उसलाई बोकाइएको छ । चर्को कर र सेवा सुल्क जनताले तिरेकै छन् । मित्र राष्ट्रहरूले अनुदान र ऋण सहयोग गरेकै छन् ।

यसको अतिरिक्त विभिन्न विकास निर्माणका आयोजनाहरू उनीहरू आफैले सम्पन्न गरेर तालाचापी हस्तान्तरण गरिदिएका पनि छन् । यसरी देश भित्र र बाहिरबाट विकासको लागि आवश्यक हुने सबै साधनको व्यवस्था हुँदाको अवस्थामा पनि किन विकास हुन सकेन जनताको खोजीको विषय बनेको छ ।

साँचो कुरो बोल्ने हो भने जनता गरिब हुँदै गएका छन् भने नेता तथा कार्यकर्ता कसरी धनी भएका हुन् ? उनीहरूमा धनी हुने के कडी छ ? नेता, कार्यकर्ता, आसेपासे सबै धनी हुने जनता भने गरिबीको पीडामा बाँची रहनु पर्ने अवस्थाको अव अन्त्य हुनु पर्दछ । हुने र नहुनेबीचको खाडल साँगुरो बनाउनु पर्दछ । तब मात्र विकासको प्रतिफल सवैमा पुग्न सक्दछ ।

अहिलेको विश्व भनेको सूचना र सञ्चारको युग हो । विश्वको कुनै एक कुनामा घटेको घटना क्षणभरमा संसार भर फैलिएको हुन्छ । कुनै पनि वस्तु लुकाएर लुकाउन सकिँदैन । कुनै दिन यस्तो आउनेछ सबैको इतिहास छताछुल्ल हुनेछ । त्यो समय त्यति पर पनि नहुन सक्दछ । बुझ्न पर्ने कुरा के छ भने अबको राजनीति यही तरिकाले चल्दैन । जनता चेतनशील भई सकेका छन् ।

(पूर्वउपसचिव, नेपाल सरकार)

प्रतिक्रिया दिनुहोस्