पत्रकारिता पेसामा एक संस्थामा करिब ३० वर्ष बिताएपछिको अवकाशका दिन सुरु सुरुमा सामाजिक सुरक्षा तथा बैंकिङ कारोबार सम्बन्धमा बिते । लामो समय एकै संस्थामा रहँदा एकरसताले नीरस बनाएकै मान्नुपर्छ । अब स्वच्छन्द जिन्दगी बिताउने भन्ने सोच रहे पनि सामाजिक सुरक्षा र आफूले जम्मा गरेको पैसा मात्र चलाएर त हुन्न भन्ने मनमा थियो ।

कहिले पैदल त कहिले सार्वजनिक बस पर्खँदा र गुड्दा अनेक किसिमका मानिस भेट भए । छोटा छोटा समयमा ती मानिससँग एकैछिन कुराको मेलो उठाएर हिँड्दा कति नै कुरा हुन्थे र ! जीवनमा यस्ता कति मान्छे भेटिए र कति कुरा भए, बस– टेम्पोमा गुड्दा कतिले एकापसमा कुरा गरे, दुखेसो पोखे, सरकार, राजनीतिक दल र तिनका नेताबारे कति निन्दा गरे, भनिसाधे छैन । ती सबै कुरा अभिलेख गरेको भए, कति किताब बन्थे होलान् ! भो, त्यो नकुरा गरम । बितेको कुरा बित्यो, बित्यो । अब त दैनिकी लेख्छु भनेर कति पटक सङ्कल्प गरियो र लेख्न थालियो, त्यो पनि अपूरै भो । अब त हरेक दिन कविता लेख्छु भनेर त्यो पनि थन्काइयो । अल्छीका अनेक बहाना र गफ हुन्छन् ।
यसै मेसामा कात्तिक २१ गते अन्तिम हाजिर गरी २२ गतेदेखि कार्यालय छाडेर अन्ततिर हिँड्न थालियो, मजा पनि आउन थाल्यो । एक दिन झल्याँस्स भएँ, ए, अब त सडकका, यात्राका मान्छेका कुराकानी पो लेखूँ भन्ने लाग्यो । तिनले सुनाएका, गफ गरेका कुरा कति सम्झिए, कति बिर्सिए ।
एक दिन शिव अर्को दिन कृष्ण
सञ्चार तथा प्रसारण विभागमा स्वतन्त्र पत्रकारको प्रेस प्रमाणपत्र लिएपछि त्रिभुवन विमानस्थल अगाडिको सडक एयरपोर्ट रोड आइपुगेँ र नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष जान बस कुर्दै थिएँ, जिउ कुप्राएर, गोडा खुम्च्याएर माग्दै गरेका लक्ष्मण दास भेटिए । उनलाई थोरै पैसा दिएर गाडीको बाटो हेरिरहेको थिएँ, दास फेरि मकहाँ आइपुगे र पैसा माग्न थाले ।
“अघि भर्खर दिएको, बिर्सनुभयो ?” भनी सोध्दा आधा नेपाली र आधा मैथिलीमा उनी भन्दैथिए, “खानका लागि १२० लाग्छ, अहिले त ५५ जति भयो होला” भनी उनले आफ्नो माग्ने सिलावरको भाँडो देखाए । मैले “लौ त” भनी १० गुना नै थपिदिएँ र गफ गर्न लागेँ ।
पहेँलो लुगा र कट्टु तथा टाउकामा फेटा बाँधेका निधारमा रातो, पहेँलो टीका लगाएका उनी जोगी जस्तै थिए, श्याम वर्णका लाम्चो अनुहारका तर सेतै फ्रेन्च कट दाह्री । जनकपुरका यिनी १५ वर्षअघिदेखि काठमाडौँ आएका रहेछन् । श्रीमती, छोरा र छोरीका धनी यिनका छोरा बहुलाएका रहेछन् र छोरीले आफैँ बिहे गरी माइतघरसँगैको आफ्नो घरमा आमालाई पाल्दै आएकी रहिछन् ।
लक्ष्मणको काम भएन र राजधानी हिँडेका रहेका छन् । गोडा खुम्च्याएर हिँड्नाको कारण चाहिँ ‘पोलियो थोपा’ रहेछ उनकै भाषामा । पोलियो थोपा नखाएकाले पोलियो रोग लागेर गोडा चिर्नु पनि परेको रहेछ ।
गौशालाको कुनै मन्दिरतिर बस्ने, सुत्ने गरे पनि सधैँ पाइन्न । अनि राति के गर्नुहुन्छ त भन्दा उनी कहिले शिव र कहिले कृष्ण जप्दा रहेछन् । एक दिन बिराई शिव र एक दिन बिराई कृष्ण । दुवैलाई सम्झनुप¥यो नि हैन ?
त्यत्तिकैमा बस आइहाल्यो र म सिटमा बस्न थालेँ तर उनको फोटो नलिएकामा आफैँलाई थक्क थक्क लाग्यो । गाडीबाट झरूँ त, फेरि कतिन्जेल कुर्नुपर्ने हो भन्ने लाग्यो । झोला सिटमै राखी खुर्र गएर खिँचौँ कि भन्ने लागिरह्यो, तर सकिन । अर्को कुनै दिन त्यही बाटो गुड्दा उनलाई देखे पनि ओर्लन सकिन, फेरि अर्को गाडी कुर्नाको झन्झट भइहाल्थ्यो । अर्को कुनै दिन उनलाई भेटेर अलि विस्तृतमा कुरा गर्ने मन छ । हेरूँ, के हुन्छ ।
ठुलीमायालाई वकिल खोज्नुपर्ने जिम्मा
लेखक सोमत घिमिरेको ‘सामुदायिक समाजवाद’ पुस्तक विमोचनमा बानेश्वर जान बसमा हिँडिरहँदा अगाडिकै सिटमा हातमा मिनिरल वाटर बोकेकी प्रौढा महिला भेटिइन् । नाकमा फुली लगाएकी रामेछापकी ठुलीमैयाँ तामाङ (थर बिर्सेँ) का मुखभरि मुजा थिए ।
कुनै साथीले मलाई फोन गरेको थियो र मैले प्रचण्डले विमोचन गर्ने पुस्तक कार्यक्रममा हिँडेको भन दिएको जवाफ ठुलीमाया सुनिरहेकी थिइन् । तिमी माओवादी हो ? उनले मलाई एक्कासि सोधिन् हैन म यसै लेख्ने पढ्ने मान्छे हुँ भने । माओवादी जस्तो छ भनिन् । मैले हैन नै भनिरहेँ । मैले कुरो छल्न गाडी भाडा तिर्नका लागि भनेर उनलाई रु एक सय दिन खोजेँ तर लिन मानिनन् । मलाई एक वकिल खोजिदिनू भनिन् । झट्ट एक साहित्यकार पनि रहेका वकिल सम्झेँ । र सानो चिर्कटामा वकिलको नाम र मोबाइल नं लेखेर दिन खोजेँ । तिम्रो नाम के हो भनी सोधिन , मैले नाम बताएँ । तिम्रो नाम र मोबाइल पनि दिनू भनिन् । मैले मेरो नाम मात्र लेखेर दिएँ ।
पछि उनले माओवादीको वकिलको नाम देऊ भनेपछि मेरो नाम पनि काटेँ र दिएँ । अनि किन वकिल चाहिएको भनी सोद्धा २०२१ को भूमिसुधार लागेर जग्गा गएको र फिर्ता पाउन खोजेकी रहिछन् । पछि ओर्लने बेला २०० रुपियाँ देऊ भनेर मागिन्, दिएँ । मभन्दा उनी अगाडि ओर्लृेकी थिइन् । कन्डक्टरले उनको भाडा लिन मानेन र भन्दैथियो, त्यही सरले दिन्छ । उनले मैले मोबाइल नं दिएको वकिलसँग फोन गरिन् कि गरिनन्, उनको जग्गाको खास के हो भनी तिनै साहित्यकार वकिलसँग भेटेर वा फोनमा सोध्न मन छ ।
तामाङ फिरीवाला
कनफट्टा जोगीहरू कात्तिक र चैत दुई महिना गरी गाउँ गाउँका घर घरमा आउँछन् । अचेल कतिपय गाउँ सहर बने र ती बजारका टोलहरूमा पनि आउँछन् । यसपालि कात्तिक जान लागिसक्यो, उसको खैखबर नै छैन यता हाम्रातिर । अझ ती पहिले पहिले तिहारकै छेकातिर आउँथे जस्तो लाग्छ । यतातिर आउन बिर्सेका त होइनन् होला । यस्तै सोच्दै थिएँ कात्तिकतिर ।
एक दिन कात्तिकको अन्तिम दिन ३० गते हाम्रो टोलका मूल ढोका कसैले ढक्ढक्याउँदै रहेछ । घरबाटै आवाजले सुनिइहालियो । हाम्रै घरमा पनि पनि ढ्वाङ्ग गरेको सुनियो । कनफट्टा नै जस्तो आएको लाग्यो । गए राति फिरी लगाएको त सुनिएको थिएन, कसरी आज आइपुग्यो भन्ने लाग्यो । मैले यसबारे सन्ध्यालाई सोधेँ पनि । “खै हामीले सुनेनौँ कि”, उनले भनिन् ।
साँच्चै भन्ने हो भने हामी रिमालहरूले कनफट्टाहरूलाई दान त के, तिनसँग बोल्नु पनि हुँदैन भन्ने भनाइ छ । सन्ध्यासँग यस विषयमा मेरो धेरै पटक विवाद परिसक्यो । “कुन जमानामा झगडा भाको, अहिले पनि त्यस्तो सोच्ने हो र ?” मलाई चाहिँ पुराना कुरामा केही दम होला नै जस्तो लाग्थ्यो । खासमा पश्चिमतिर, जहाँ हाम्रा पुखा त्यता थिए, मा एक पल्ट श्राद्धका बेला खिर नदिएको हो कि यस्तै के मामिलामा कनफट्टाले रिमालहरूका पुर्खाको हत्या गरेको रहेछ । त्यसै बेलादेखि रिमाल र कनफट्टाबिच बाराबार भएको रहेछ । मैले एक दुई पटक त सिधा उठाउने कनफट्टालाई बार्दलीबाटै “ए, हामी त रिमाल हो ” भनेर पठाइदिएको थिएँ । कहिले भने घरमा काम गर्नेका हात पैसा वा चामल आदि दिएर सिधा, दक्षिणा दिने गरेको थिएँ । कहिले चाहिँ लाचार भएर आफैँले दिन्थेँ ।
कात्तिक मसान्तमा आएको कनफट्टालाई अलिकति दिनुपर्ला भनेर ढोकानिरबाट चियाएँ । अगाडि कमल गुरुङका ढोकामा गायत्री उभिएर बसेकी थिइन् । उनी उसलाइ केही चिज दिँदै रहिछन् क्यार । ऊ पनि आफूसँग ल्याएको बोरा मिलाउँदै थियो ।
मैले जोगी भनिएकाको अनुहार टाढैबाट हेरेँ । कानमा लाउने विशेष मुन्द्री त कता हो कता, कान चिरिएको पनि थिएन । यस्तो त अचेल सधैँ जसो देखिएकै छ ।
खै त कान चिरेको भन्दा हामी नरहरिनाथतिरका चेला होइनौँ पनि भने कतिले । यी जोगीको अनुहार त खसआर्य जस्तो देखिन्न त । ए बाबा, मुखै फोरेर सोध्नै मन लाग्यो मलाई । “तपाइँ के जात हो ”, मैले उसले सुन्ने गरी सोधेँ । “तामाङ हो”, उसले सोझै भन्यो । “अनि कसरी तपाईँ आउनुभयो त” भनी सोधेँ । “अँ, मलाई पठाएको हो”, उसले भन्यो । “अनि हिजो बेलुका फिरी लगाएको सुनिएन त !” मैले यसो भन्दा “सुन्नु भएन होला नि ”, प्रत्युत्पन्नका साथ उसले जवाफ दियो । कुरो बनाएर भन्यो कि, साँच्चै हो कि । मलाई भने चित्तै बुझेन र “तत्” भन्दै फर्केँ । त्यो दिन टोल र घरतिर फिरी लगाएको, नलगाएको बारेको सत्य के हो, खास जोगीले उसलाई पठाएको हो वा के हो, कसलाई सोध्नु ? जमाना नै यस्तै भएको हो कि ? केही बुझ्नै सकिएन ।
यस्ता कथा अरू पनि छन् । लेख्दै जाने छु ।