करिब दुई हप्ताअघि नै आफ्नो नयाँ किताब विमोचन हुने भएकाले समय छुट्याउन लेखकबाट अनुरोध आइसकेको थियो । माघ २७ गते मेरियट होटलमा कार्यक्रम आइतबार १ः४८ मा सुरु भयो । उद्घोषिका थिइन् सिर्जना शर्मा, घोस्ट राइटिङ नेपाल, थापागाउँ ।

मञ्चमा थिइन् पुस्तककी प्रकाशिका तथा कवि ईदा उपाध्याय । अतिथि थिए नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष डा. सत्यनारायण सुवाल, नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष डा. रत्नमणि गजुरेल, पुस्तक समीक्षकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र साहित्यकार तथा पूर्वउपरथी राजेन्द्र थापा । त्यस्तै, कृति सम्पादक लक्ष्मण अधिकारी र लेखक डा अवनिभूषण उपाध्याय, जसले विसं २०७९ फागुनमा ‘मुटुसँगको सहयात्रा’ ल्याइसकेका थिए, जसको दोस्रो संस्करण पनि आएको थियो ।
सुरुमा लेखककी धर्मपत्नी ईदाले लिखित रूपमा मुटुदेखि अतिथिहरूको स्वागत गर्दै लेखकको पहिलो कृतिलाई पाठकले धेरै माया गरेको र तिनले मानव मुटुबारे सरल भाषामा लेख्न आग्रह गरेकोले करिब ४५ वर्षमा धेरै प्रश्न उठेकाले त्यसको जवाफ दिनका लागि कृति लेख्नुपरेको स्पष्ट गरिन् ।
उनले भनिन्, ‘मुटुरोग लागेपछि त्रास हुने, डर लाग्ने र नकारात्मक भावना उठी झन् रोग लाग्ने भएकाले पुस्तक जन्माउनुपरेको हो ।’ अनि पानसका दीप प्रज्वलन गरी डा सुवाल र डा गजुरेलले ‘मान्छेको मुटु’ पुस्तक लोकार्पण कार्यक्रमको उद्घाटन गरे ।
उद्घोषिकाले लेखकलाई बधाई दिँदै भनिन्, ‘कृति हिजोसम्म लेखकको मात्र थियो, आजदेखि सबैको सम्पत्ति भयो । यसमा उनको चिकित्सकीय समर्पण, ज्ञान र अनुभव छ ।’
अनि समीक्षाका लागि डा रेग्मीलाई बोलाइन् । उनले नयाँ पुस्तक लेख्न लाग्दादेखि नै लेखकले आफूलाई भूमिका लेख्न र कार्यक्रममा समीक्षा गर्न आग्रह गरेको जनाउँदै किताबको नाम नै मजा आउने खालको भएको बताए ।
पुस्तक गहिरो हुन लेखक पनि गहन हुनुपर्नेमा जोड दिँदै देवकोटा र सेक्सपियरका नामले नै किताब पनि महत्त्वपूर्ण हुने विचार राखे । उनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उपाध्यायको शारीरिक सुन्दरता, उच्च बौद्धिकता, नेतृत्वकारी व्यक्तित्व, घिउ हालेर पकाइएको हलुवा र रसबरी जस्तै क्वाप्प खाइहालूँ जस्तो स्वभाव र अबेर सुतेर छिटो ब्युँझने निद्राको प्रवृत्तिबारे चर्चा गर्दै उनको बहुआयामिकताको वर्णन गरे ।
उनले भने, ‘मुटुको पनि आफ्नै दिमाग हुन्छ, आफैँ सोच्न सक्छ, विश्लेषण गर्न सक्छ, सञ्चालन पद्धति र करेन्ट उत्पादन हुन्छ । मुटुभित्र नै आत्मा, भगवान्, विवेक, सुख र माया बस्छ ।’ कृतिमा मुटुबारेका प्राविधिक कुरा, भ्रम र अज्ञानका कुरा थुप्रै भएको बताए ।
तिन छोरी, दुई कृति गरी पाँच सन्तान जन्माइसकेका डा. अवनिले छैटौँ कृतिचाहिँ तिन वर्षमा आफ्नो अनुभव र ज्ञान समेटी सबै र भावी पुस्ताका लागि जीवनोपयोगी लेखुन् भनी सुझाव दिए । उनले बोल्दा बोल्दै अर्का मुटुरोग विशेषज्ञ तथा साहित्यकार डा अरुण सायमी बिचैमा कताबाट आए र मञ्चमा गई लेखकसँग हात मिलाएर गए ।
अनि सबैलाई ‘दर्शन सलाम’ गरे जर्साब अर्थात् कवि, गीतकार, आख्यानकार राजेन्द्र थापाले । डिल्लीबजार र पुतलीसडकमा रहँदाका छिमेकी र बालसखा डा उपाध्यायको पाण्डुलिपि आफू अर्कै क्षेत्रको भएकाले पहिले त वास्ता नगरे पनि पछि भने दन्त्यकथा वा बालसाहित्य जस्तो मानेर पढेको पढ्यै गरेर मोबाइलमा भूमिका लेखी पठाएको जनाए ।
पत्रकारले सोध्ने र ‘श्रीस्वस्थानी व्रतकथा’ मा कुमारले जवाफ दिने जस्तै तरिकाले कृति लेखिएको बताउँदै उनले भने, ‘‘मुटुसँगको सहयात्रा’ मा नेपालको राजनीति, प्रशासन र दुर्दशा लेखिएको छ भने यसमा मेडिकलभन्दा मनको कुरा, मन टाल्ने कुरा छ, अलग अलग कोणबाट अद्भुत कुरा छ ।’ उनले घुमाउरो भाषामा लेखकबाट अर्को कृतिचाहिँ साहित्यको आओस् भन्ने कामना पनि गरे ।
लेखकका दुवै कृतिको सम्पादक रहेका अधिकारीले अघिल्लो कृति पाठकले निकै रुचाएको र साहित्य पोस्ट डटकमबाट पुरस्कृत पनि भएको जनाउँदै मुठी जति आकारको मुटु महासागर नै भएकाले एक किताबमा यसबारे पूरै लेख्न नसकिने स्पष्ट गरे । डा र रोगीको जीवन्त प्रस्तुति भएको कृतिमा जीवन बचाउन अमूल्य सुझाव दिइएको उनले बताए ।
अतिथिमध्येका डा गजुरेलले डा उपाध्यायका लेख, अन्तर्वार्ता पढ्दा त आफू डाक्टर मात्र भएको लघुताभास प्रकट गरे । मान्छेका मुटुमा भावनात्मक कुरा पनि भएको कुरा आफूले कृतिबाट जानेको बताउँदै आफू यस क्षेत्रमा आएको दुई दशक मात्र भएको र अझ धेरै टाढा जानुपर्ने स्वीकारे ।
‘कृतिमा मुटुको एनाटोमी, फिजियोलोजी र प्याथोलोजी मात्र होइन, घटना, भोगाइ र अन्य तथ्य पनि आएका छन्, मैले जीवनमा हजारौँ मुटु जाँचँे तर मन मुटु कहाँ कहाँ हुन्छन् भन्ने थाहा थिएन’, उनले भने, ‘मुटुभित्र पनि सानो मस्तिष्क हुन्छ, त्यसले कोअर्डिनेट गर्छ । एक्स्ट्रा कुरा सिक्न पाइयो ।’
अर्का अतिथि डा सुवालले कृति परीक्षामा पढ्न सजिलो बनाइएको गेस पेपर जस्तै दुई सय आठ वटा प्रश्नोत्तर शैलीमा मेडिकल, नन–मेडिकल दुवैले बुझ्ने सरल भएको जनाउँदै हरेकको घरमा हुनैपर्ने, पढ्नैपर्ने ‘मुटुको इन्साइक्लोपिडिया’ (विश्वकोश) कृतिमा अध्यात्म, चिकित्सा विज्ञान, स्वास्थ नीति र समस्या आएको बताए ।
एक ¥युमाटिक हर्ट डिजिज भएकी महिलालाई उनका पतिले छाडेर अर्को श्रीमती ल्याएको कथा पनि ‘मुटुको इन्साइक्लोपेडिया’ मा भएको रहेको जनाउँदै एक्युट हर्ट अट्याक भएको बिरामीलाई लेखकले सम्बन्धित अस्पतालसम्म पु¥याएको प्रेरणास्पद कुरा भेटिएको पनि बताए ।
त्यसैमा उद्घोषिकाले पनि थपिहालिन्, अक्षर नै ईश्वर हो, शब्द नै ब्रह्म हो, लेखकको अनुभव सबैलाई मार्गदर्शक हुने छ, कलम कहिल्यै नरोकियोस् । अब बल्ल पालो आयो लेखकीय मन्तव्य र धन्यवादको । उनले मेडिकल इन्फर्मेसन भएको सरल भाषामा किताब लेख्न आएको आग्रहानुसार प्रस्तुत कृति जन्मिएको जनाए ।
अमेरिकाको बोस्टन पब्लिक लाइब्रेरीमा आफूले दुई जापानी फुमिताके कोगा र इचिरो किसिमीले लेखेको पुस्तक ‘अ करेज टु बी डिसलाइक्ड’ प्रश्नोत्तर शैलीमा लेखिएको किताब पढ्न पाएको र त्यसमा मान्छे खुसी र शान्तिका लागि भौँतारिरहने र अरूबाट प्रशंसा र सम्मान पनि खोज्ने स्वभावका हुन्छन्, त्यो नभएमा दुःखी हुन्छ भन्ने सार रहेको पाएको उल्लेख गर्दै त्यही कृतिबाट नै आफ्नो नयाँ पुस्तकको शैली बनेको जानकारी दिए ।
सम्झनुपर्ने अमेरिकामा रहेका आफ्ना ‘मुटुका टुक्रा’ लगायत सबैलाई सम्झँदै आफ्नो ४०–४५ वर्षको अध्ययन र अनुसन्धान कृतिमा ल्याउने प्रयास गरेको र कमजोरी भएमा औँल्याइदिन पाठकलाई आग्रह पनि उनले गरे ।