केपी शर्मा ओली (वर्ष ६९)ले कक्षा दोहोर्याउँदै छन् भन्ने छनक माधवकुमार नेपाल (वर्ष ६८)ले उनका अनेक हर्कतबाट उहिल्यै चाल पाइसकेका थिए र त पार्टी चटक्क छाडेर हिँडे र नयाँ यात्रा शुरु गरे । अब नेपाललाई नेकपा (एमाले) ‘नजाने गाउँको बाटो नसोध्नू’ जस्तो भएको छ । नेपालको राजनीतिमा अहिले न मण्डेला छन् न मनमोहन अधिकारी ।
पत्नी आफ्नो राजनीति र सत्ताको यात्रामा काँडा बन्लिन् भन्ने डरले परित्याग गरेका मण्डेला र अर्काे दलले जबर्जस्ती अध्यक्ष बनाएको वा बनाइएका अधिकारीसँग अहिलेका कुन राजनीतिक दलका नेतासँग तुलना हुन सक्ला र ? एक पल्ट सन्न्यास लिइसकेका खेलाडी फेरि फर्केर आए जस्तै आफूले थुकेका थुक चाट्ने अर्थात् अबदेखि पार्टी नेतृत्व लिन्न भन्ने नेताहरू फेरि घुमिफिरी बूढो गोरुले कोरली बाच्छी ओगट्न आउँदा रहेछन् भन्ने प्रवृत्ति आँखै अगाडि देखिहालियो ।
अब शेरबहादुर देउवा (वर्ष ७५) र पुष्पकमल दाहाल (वर्ष ६६) पनि पार्टी सभापति, अध्यक्ष छाड्नेवाला छैनन् जस्तो कि चितवनमै सट्याकसुटुक महाधिवेशन गरेको नेकपा(माले)ले पुरानै नेता सिपी मैनाली (वर्ष ७०)लाई दोहो¥यायो भने त्यसअघि मोहनविक्रम सिंह(८६)ले कुर्सीमै टाँसिएको खबर उहिल्यै आइसकेको छ । सरकार प्रमुखका रूपमा जिम्माबेमा रवर्ट मुगाबेले ९३ वर्षका उमेरसम्म २९ वर्ष शासन चलाए भने महाथीर मोहम्मद ९३ वर्षमा प्रधानमन्त्री भए । कुरै गर्ने हो भने जो बाइडेन ७८ वर्षका उमेरमा राष्ट्रपति बनेका हुन् । जो अमेरिकी इतिहासमा सबभन्दा बूढा राष्ट्रपतिका रूपमा चुनिएका हुन् ।
त्यसैले अहिले ५७ वर्षमा राजेन्द्रप्रसाद लिङ्देन राप्रपा पार्टी अध्यक्ष बनेकामा सबभन्दा खुशी हुने विपक्षी नेतामा कोही छ भने नेपाली कांग्रेसका ६५ वर्षीय उपसभापति विमलेन्द्र निधि नै होलान् जो अहिले ७५ वर्षीय देउवासँग लड्न राजनीतिक हतियार साँध लगाएर बसेका छन् । “राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ”, निधिले आजको आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पु¥याउनेछ भन्ने म विश्वासका साथ सफल कार्यकालको कामना गर्दछु ।”
ओलीका हकमा राजनीतिमा सक्रिय हुन पाइने ७० वर्षको उमेरको पार्टी विधान फागुनपछि कत्तिको लागु हुन्छ भन्ने हेर्न नै बाँकी छ ।
पाँचपटक प्रधानमन्त्री र दुईपटक सभापति बनेका (नेकां प्रजातान्त्रिकसमेत) देउवालाई राजनीतिक रूपले अझै सक्रिय बन्ने वा पुस्तान्तरणको प्रक्रिया चाल्ने भन्ने निर्णय लिन महाधिवेशन अगावै मनग्यै समय छ । लिङ्देनको विजयलाई निधिले आफ्ना पक्षमा पारेर देउवालाई सम्बोधन गर्न अर्काे मौका छोपे पनि यसअघि नै यिनले उनीसमक्ष गरेको अनुनयविनय हालसम्म चाहिँ असफल भएकै छ । अघिल्लो वर्ष नै सम्पन्न भइसकेको पार्टी विधान अधिवेशनमै उमेरबारे निर्णय गर्ने मौकाको उपयोग निधि र उनका साथीहरूले गर्नुपथ्र्याे, जसमा उनीहरू चुकिसकेका छन् ।
हुन त उमेरलाई एउटा सङ्ख्या मात्र मान्ने समूह पनि हामीकहाँ छ । युवा उमेर हुँदैमा प्रवत्र्तनात्मक विचार तथा दौडधुप गर्न सक्ने क्षमता नहुन सक्छ । प्रौढले आफ्नो अनुभव मजासँग उपयोग गरेर भए पनि बुढ्याइँको छनक नदिन सक्छन् । बाइडेनको अहिलेको महाद्वीपदेखि महाद्वीपसम्मको सक्रियता बिल क्लिन्टन वा बाराक ओबामाभन्दा कम चाहिँ छ्रैन । त्यसअघि डोनाल्ड ट्रम्पले पनि प्रतिद्वन्द्वीसँग अनेक खाले कुस्ती खेलेरै पदावधि बिताएका हुन् ।
राजतन्त्र र हिन्दू धर्मको नारा बोकेर हिँडिरहेको राप्रपाको बाटो कति उल्टो हो र सुल्टो हो भन्ने कुरा २१ औँ शताब्दीको मूल्यमान्यता अध्ययन गर्दा नै थाहा हुन्छ । पश्चगमनको यात्रामा हिँडेका लिङ्देन र उनको समूहले यत्रो राजनीतिक जटिलताको औषधि के भेट्टाउला र ? अझ संसद्बाट नै राजतन्त्र र हिन्दू राज्यको स्थिति फिर्ता गराउनुपर्ने प्रावधान रहेकामा सडकको ध्वाँस दिनु नै राजनीतिक अदूरदर्शिता वा असक्षमता उनमा देखिइसकेको छ । राजा र हिन्दूधर्मलाई मान्ने कम्युनिष्ट र कांग्रेस मतदातालाई आफूतिर तान्न फलामको च्युरा चपाउनु हो भन्ने कुरा लिङ्देनलाई थाहा नै छ र पनि उनी जोरजुलुमको बाटोको धम्की किन दिँदैछन् भन्ने कुरा बुझ्न सकिएको छैन । उनको युवा जोश सिर्जनशीलतातिर नै उन्मुख हुनुपर्ने हो, नकि तासको बादशाह र बेलायतको राजतन्त्रको अवधारणाविपरीत हिँड्नु ।
अघिल्लो आमनिर्वाचनदेखि नै उदाएको भनिएको युवाहरूको विवेकशील साझा पार्टीको पनि युगविपरीत धर्मनिरपेक्षता र सङ्घीयता विरोधी हर्कतले पार्टी विखण्डनतिर उन्मुख हुन लागेको सबैका सामु स्पष्ट नै छ । त्यसका अध्यक्ष रवीन्द्र मिश्र (वर्ष ५४) ले अहिले महेन्द्र र राजाहरूको गुनगान गाउने वा सङ्घीयतालाई चोट पर्ने अभिव्यक्ति दिने समय होइन भन्ने कुरा कसरी बिर्सन सकेको हो ? युवा उमेरले हैन, विचारले हुनुपर्छ भन्ने मान्यता यहीँनिर मेल खान्छ ।
सुवास नेम्वाङ वा अष्टलक्ष्मी वा भीमप्रसाद आचार्य वा गोकर्ण विष्ट आदिले जबजको व्याख्या गरेको कहिल्यै सुन्नुभएको छ ? चन्द्र भण्डारी वा धनराज गुरुङ वा सरिता प्रसाईँहरूले समाजवादको व्याख्या गरेको कहिल्यै भेट्टाउनुभएको छ ? वर्षमान पुन वा जयपुरी घर्तीले एक्काइसौँ शताब्दीको जनवादबारे फलाकेको पनि याद छैन र सुनिल प्रजापतिले जुछे विचारबारे बोलेको थाहा छ्रैन । अस्ति भर्खर माओवादी केन्द्रमा प्रवेश गरेर हिजो राप्रपामा गएकी रेखा थापाले उदारवादको व्याख्या गर्नु त सपनाको कुरा भयो ।
अन्तरराष्ट्रिय सम्बन्धको दिशा, छिमेकी मुलुकहरूसँगको सम्बन्ध, अर्थतन्त्रको नेपाली ढाँचा, समाज रूपान्तरणको प्रवृत्ति, जलवायु परिवर्तनका असर, साइबर सेक्युरिटी, कोरोना महामारीले लिने आगामी बाटोबारे तिनका विचार कहिले सुन्न पाइने हो ? सिद्धान्त वा दर्शनको अध्ययन र नेपाली समाजमा त्यसको व्याख्या गर्न नसक्नेहरूलाई नेता मानेर बस्नुपर्ने नेपाली जनताको विवशता यहीँनिर छ । ती त पदका लागि मरिहत्ते गर्न मात्र तयार छन्, मोहनविक्रम वा मोहन वैद्य वा प्रदीप गिरी जस्तो पढैया बन्ने कठिन बाटामा लाग्लान् भन्ने आशा गर्नु व्यर्थ हुने छ ।
एमाले, माओवादी केन्द्र, कांग्रेस, नेमकिपा, राजमो, जसपा, लोसपा आदि राष्ट्रिय राजनीतिका खेलाडी दलमा रहेका तन्नेरीहरूले राजनीतिमा आफ्नो पक्षमा खोसेर ल्याए पनि तिनले समाउनुपर्ने बाटो २१ औँ शताब्दीअनुकूल आफ्नो वैचारिक दृष्टिकोणमा परिवर्तन र मुलुकको सकारात्मक रूपान्तरणको दिशा नै हो । सिके राउत र नेत्रविक्रम चन्दहरू पनि कानून आफ्नो हातमा लिने पथमा नजाऊन् । अनि एमाले युवाहरूले भर्खरैको महाधिवेशनमा मौका गुमाए पनि अन्य दलका तन्नेरीहरूले बेलैमा राजनीतिक नेतृत्व खोसी आफू तथा देश र जनताका हितमा अहिले नै सोच्नु बुद्धिमत्ता हुने छ । पुराना विचार र सङ्गठनको ढाँचा बोकेर नयाँ बाटो कोर्न मुश्किल नै हुने छ ।
२०७८ मङ्सिर २०
[email protected]