सिंहदबार प्लाजास्थित राष्ट्रिय महिला आयोगको सभाकक्ष –२०७८ पुस ८ । शङ्कर लामिछाने निबन्ध प्रतिष्ठानद्वारा आयोजित साहित्यकार तथा पत्रकार श्रीॐ श्रेष्ठ रोदनद्वारा लिखित पुस्तक ‘अभिवन्द्य’को लोकार्पण समारोह ।
अपराह्न साढे १ बजे प्रमुख अतिथि निबन्धकार ८८ वर्षीय तेजेश्वरबाबु ग्वङ्गको आगमनपछि कार्यक्रम शुरु भयो । अन्य कार्यक्रममा गरिने उद्घोषणकै शैलीमा यादव भट्टराईले आफ्नो मुक्तक वाचनबाट नै कार्यक्रम शुरु गरे । मञ्चमा ‘अभिवन्द्य’मध्येका तुलसी दिवस, मदनदास श्रेष्ठ, मञ्जुल, निर्मोही व्यास, अशेष मल्ल, चिन्तामणि योगी, डा हरिप्रसाद पोखरेल र लक्ष्मणप्रसाद गौतम बोलाइए र रातो खादा लगाइए । आयोजक प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली र लेखक श्रेष्ठ तथा समालोचक ज्ञानु अधिकारी र मोमिला मञ्चमा हुने नै भए ।
रमाइलो कुरा, जाडो थियो, अधिकांश पुरुषका टाउकामा टोपी देखिन्थ्यो । सभाकक्ष कोचाकोच नै थियो । कार्यक्रममा शालीन लेखकले नै शब्दबाट अतिथिहरूको स्वागत गरे– पाँच छ जना ‘अभिवन्द्य’ व्यक्तित्वका आधारमा लेखिएका निबन्धका अंश वाचन गरेर । छोटाछोटा वाक्यमा तिनको खास परिचय झल्कने अंश वाचन गरेर लेखकले स्रोताका मन छोए । तिनले भने,“मैले आफूले पत्याएका र सम्मान गर्नुपर्ने व्यक्तित्वलाई २०४८ देखि नै भावनात्मक रूपमा पोखेको हुँ ।” ती निबन्ध अधिकांश लेखक आफूले पनि कुनै बेला सम्पादन गरेको ‘मधुपर्क’मा प्रकाशित हुन् ।
लेखकका दृष्टिमा आफूले अभिवन्दना वा सम्मान गर्नलायक लेखक, साहित्यकार, पत्रकार, गायक–सङ्गीतकार, नाटककार, समाजसेवी, प्राकृतिक चिकित्सक, चिन्तक, स्वामी आदिमा सिद्धिचरण श्रेष्ठ, डायमण्डशम्शेर राणा, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, बालकृष्ण पोखरेल, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्ट, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, ध्रुवचन्द्र गौतम, शशी भण्डारी, जनकबहादुर राणा, विहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क र रमेश श्रेष्ठ हुन् । लेखकलाई प्रतिष्ठानका अध्यक्ष लेकालीले संस्थाको चलनअनुसार फूल चढाएर, माला लगाएर सम्मान पनि गरे ।
पहिले समालोचक अधिकारीले कृति समीक्षा गर्दै पुस्तक पढेपछि आफूलाई नयाँ ऊर्जा थपिएको र संवेदना जागेको जनाइन् । लेखकको विशिष्ट आलङ्कारिक भाषाशैलीको प्रशंसा गर्दै उनले भनिन्, “कृतिमा अनुभूति, संस्मरण, विचार, दृष्टिकोण र विश्वदृष्टि स्वतस्फुर्त रूपमा पोखिएको र लेखक आफू पनि पोखिएका छन् ।” लेखकको अघिल्लो कृति ‘भनूँ कि नभनूँ’भन्दा फरक कवितात्मक हरफयुक्त पूर्णशैली प्रस्तुत कृतिमा रहेको पनि उनले बताइन् ।
समीक्षक मोमिलाले पनि सधैँ झैँ कवितात्मक सम्बोधन गर्दै ‘अभिवन्द्य’मा ग्वंग्वको शैली रहेको र उनीहरू दुवै भाग्यमानी भएको चर्चा गरिन् । लेखक श्रेष्ठसँग सङ्गत नगर्नु आफ्नो दुर्भाग्य भएको बताउँदै उनले लेखकप्रति आफ्नो प्रेमको सद्भाव जनाइन् । “लेखेका बेला हरेक मान्छे बुद्ध बनिरहेको हुन्छ, आफूलाई बुद्ध बनाउन पनि यो कृति पढ्नुपर्छ”, उनले भनिन् । उनले कृतिमा केही भाषिक त्रुटि रहेकामा निकै चित्त दुखाइन् । दुवै समालोचक ‘अभिवन्द्य’मा ४१ जनामध्ये नारी एक जना मात्र परेकामा लेखकप्रति खनिए पनि ।
अब पालो आयो ‘अभिवन्द्य’मध्येका मञ्चासीनको बोल्ने पालो । डा पोखरेल अर्थात् मानसाग्निले जीवनमा सत्यको उद्घोष गर्नुपर्नेमा जोड दिँदै जीवितको गुणको चर्चा कमैले गर्ने गरेको तर श्रेष्ठले गुणगान गरेकामा प्रशंसा गरे । योगीले दाङबाट आएपछि ३८ वर्षदेखि आफूले सङ्गत गरेका श्रेष्ठले कसैमा पनि कालो दाग नदेखेको तर सेतैसेतो मात्र हेरेको भनी फुक्र्याए । गौतमले पाण्डुलिपि पढ्नेक्रममा ‘अभिवन्द्य’मध्येका कोही खराब निस्के भने के गर्ने भनी प्रश्न गर्दा त्यो सोही व्यक्तिको जिम्माको कुरा हो भनी जवाफ दिएको बताउँदै महिलासँग लेखकको ‘इन्टिमेसी’ कम रहेको अथ्र्याएर गए ।
मञ्जुलले कृतिबाट आफूलाई गर्व लागेको र छाती ढक्क फुलेको जनाउँदै महिलाहरू चिनेपछि झन् आनन्द लाग्ने बताए । पत्नीसहित कार्यक्रममा आएका श्रेष्ठले भने “सबैको जय होस्, हामी सबैको जय होस्” भन्दै गणेशको जय होस् भन्दा एक भक्तले शिवपुत्रबाट “तेरै जय होस् ” भनी आशीर्वाद पाएको पुरानो कथा सम्झाए । उनी रेडियो नाटकमा हाँस्ने उही ‘मोडेल हाँसो’ महिषासुर हाँसो हाँसेर स्रोतालाई रमाइलो गरेर । मल्लले भने, “असल र इमान्दारले मात्र अरूलाई राम्रो देख्छ, फूलको आँखामा फूलै संसार ।”
दिवसले लेखकहरूले नै भाषा भत्काउने हो भन्दै समीक्षक जोशीप्रति असहमति जनाए । “लेखक देवकोटा, लामिछाने जस्तो होइन, आफू जस्तै हुनुपर्छ”, उनले भने । पदमा रहँदाभन्दा अहिले आफू विश्वभर जाँदा कसैको स्वीकृति लिनु नपरेकामा निकै सजिलो भएको पनि उनले बताए । मञ्चासीनमध्ये नबोल्नेमा व्यास मात्र थिए–नामै त निर्माेही । कृति प्रकाशक पल्लव प्रकाशनका ऋषिराम पाण्डेले राम्रै कृति भएकाले आफूले प्रकाशन गरेको जनाए ।
प्रमुख अतिथि ग्वंग्व बोल्दा उनलाई लेखक र लेकाली दुवैले दुवैतिर समाइरहेका थिए, कारण थियो उनको अस्वस्थता । तैपनि उनी उमेरले आफू पाको नभएको बरु पाक्न पाक्न मात्र लागेको जिकिर गर्दै मञ्चमा उभ्याइदिएका आभार व्यक्त गर्दै थिए । कृतिका भूमिकाकार उनी भन्दै पनि थिए, “लेखकले परम्परामा जानु पर्दैन, म पनि त अर्धवाक्य लेख्छु, पूर्णवाक्य लेख्दिन ।”
लेकालीले कृति किनेर पढ्न स्रोतालाई आग्रह गर्र्र्दै भविष्यमा पनि यस्तै पुस्तक आइरहून् भनी शुभकामना दिए । प्रतिष्ठानले लेखकलाई पहिले अभिनन्दन पनि गरिसकेको जानकारी उनले दिए । रु ४०० मूल्यको कृति छुटमा रु ३०० मा किन्न स्रोताहरू हतारिएका पनि थिए ।
२०७८ पुस १०
[email protected]