महाकाली नदी भारतलाई सुम्पिएर पञ्चेश्वर परियोजना सम्झौतापछि (२०५२ माघ २९) सूर्य पश्चिमबाट उदाउँछ र नेपाललाई वार्षिक रु एक खर्ब आम्दानी हुन्छ भन्ने त्यतिबेलाका केपी शर्मा ओलीलाई कुनै समय पार्टीभित्रै दक्षिण निकटको आरोप लगाइन्थ्यो ।
त्यतिबेलाका पार्टीमा माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वर पोखरेल र प्रदीप नेपालको सर्वसर्वा थियो । झलनाथ खनाल जबजलाई दक्ष प्रजापतिको टाउको भन्थे । सिपी मैनाली नयाँ परिस्थितिमा माक्र्सवादको नयाँ भाष्य खोज्नुपर्छ भन्थे । पार्टीभित्र प्रतिपक्ष चलाउने ओली जनकपुरको सातौँ अधिवेशन (२०५९)मा नेपालसँग प्रतिस्पर्धामा उत्रेपछि सदाका लागि दुई गुट जन्म्यो ।
नेकपा (माले) चलाउन नसकेर वामदेव गौतम नेकपा (एमाले)मा फर्किसकेका थिए । दोस्रो जनान्दोलन २०६२–६३ मा ‘बयलगाडाबाट अमेरिका पुग्न सकिन्न’ भन्दै ओलीले ०६२–६३ को जनआन्दोलनको व्यंग्य गर्थे । आखिर उनै ओलीले गिरिजाप्रसाद कोइराला सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेर विस्तार शक्ति आर्जन गरे ।
२०७१ मा भृकुटीमण्डपमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा ४६ मतले माधवकुमार नेपाललाई हराएपछि वामदेव गौतमसँग मिलेर संसदीय दलको अध्यक्ष भए । सुशील कोइरालापछि तत्कालीन नेकपा (माओवादी)सँग मिलेर प्रधानमन्त्री बने ।
आलोपालो गर्न नमानेपछि माओवादी केन्द्रले काँग्रेससँग मिलेर सरकार गठन (अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री) र चुनावी सरकार काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भई एमाले–माओवादी केन्द्र गठबन्धन गरी २०७४ को निर्वाचनमा करिब दुईतिहाइको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गरे ।
पार्टी र सरकार हातमा लिएपछि उनमा पदीय अहङ्कार सुरु भयो । त्यसपछि २०७४ को करिब दुईतिहाइको वामपन्थी नेतृत्वको सरकार, नेकपा एकीकरण र त्यसमा उब्जिएको कलह, प्रतिनिधिसभा दुईपटक भङ्ग, अदालतबाट प्रतिनिधिसभाको पुनः जन्म, नेकपा विभाजन, एमाले पुनर्जीवनपछि ओलीको पतनको दिन सुरु भयो । र, पाँचदलीय गठबन्धनपछि कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन भयो ।
एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)को जन्म, २०७९ को आमनिर्वाचनमा कांग्रेस ठूलो दल भई सरकार गठन गर्न अग्रसर हुँदाका बखत नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच्किएर एमालेको शरण र राष्ट्रपति निर्वाचन प्रकरणसम्म आइपुग्दा एमालेको स्थिति के छ र पाँचदलीय गठबन्धन ब्युँतिएर आठदले भएपछि राजनीति कहाँबाट कहाँ आइपुगेको छ, सबैलाई थाहा छ ।
यसबीचमा भारत, चीन र अमेरिकाको चलखेल हेरिनसक्नु र देखिनसक्नु भएको भन्नै पर्दैन । लाज त हामीलाई पो लाग्यो । देशभित्रका शक्ति त आफ्नो राजनीतिका लागि कहिले कता, कहिले कता स्वाभाविकै थियो र छ । विदेशी शक्तिलाई आफ्नै घरमा भित्र्याएर आफूअनुकूल पार्ने कोसिसमा सबै लागे, लागिरहेका छन्, भोलि पनि नानीदेखिको बानी त्यही हुने छ, फरक पर्दैन ।
पञ्चायतले पनि आफ्नो सत्ता जोगाउनका लागि कांग्रेस, कम्युनिष्टलगायत बहुदलवादी शक्तिलाई ‘अत’ अर्थात् ‘अराष्ट्रिय तत्त्व’ भनिरह्यो जसको अर्थ थियो राष्ट्रियता विरोधी समूह अथवा अन्तर्राष्ट्रिय तत्त्वबाट परिचालित जमात ।
रमाइलो कुरा, ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलको निर्देशनमा करिब दुईतिहाइको सरकार ढाले पनि मुख छोप्न देशीविदेशी तत्वको खोइरो खन्न भने छाडेनन् । यसरी हेर्दा चरम राष्ट्रवादी त ओली पो जस्तो लाग्छ ।
विसं २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग एकता भइसकेपछि पनि उनी भित्री र बाहिरी शक्तिप्रति आक्रामक नै थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनपछि ‘देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्’, ओलीले भनेका थिए, ‘हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पु¥याउँछौँ ।’
एमाले विभाजन गराउन पनि विदेशी शक्ति लागेको बताउने ओलीले गत मंसिर ४ गतेको आमनिर्वाचनका अवसरमा पनि ठाउँ–ठाउँका भाषणमा देशी तथा विदेशी शक्तिले आफ्नो दललाई कमजोर बनाउन पाँचदलीय गठबन्धन बनाएको आरोप लगाएका थिए ।
देउवा नेतृत्वको सरकार बनाउने सर्वाेच्च अदालतको आदेशपूर्व नै माओवादी नेता प्रचण्डले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफूहरूको सरकार चीन र भारतलाई ‘कम्फर्टेबेल’ हुने बताएर एमाले र ओलीले भन्ने गरेको भनाइलाई बल पुर्याउने काम गरेका थिए ।
त्यसो त प्रचण्डले पनि प्रतिनिधिसभा विघटन देशी–विदेशी शक्तिको ठूलो षड्यन्त्रबाट भएको आरोप लगाएका थिए । प्रचण्डले त्यसको व्याख्या गर्दै भनेका थिए, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिङ थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानभूत गर्ने एउटा डिजाइन गर्नका लागि गरिएको षड्यन्त्र थियो ।’
ओलीलाई मोहरा बनाएर मुलुकलाई अस्थिर र तहसनहस पार्न, संविधान कार्यान्वयन हुन नदिन र प्रतिगमन गर्न पछाडिबाट ठुल्ठुला प्रतिक्रियावादी शक्ति लागिपरेको विचार पनि माओवादी अध्यक्ष प्रचण्डबाट व्यक्त भयो ।
पछिल्लोपटक यही फागुन २ गते अनेरास्ववियुको २३औँ अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले भित्र र बाहिरका शक्तिले देश बर्बाद बनाउन लागेको भनी विद्यार्थीलाई भड्काएका थिए ।
ओलीले भने, ‘यसअघि झन्डै दुई तिहाइको वामपन्थी आन्दोलनलाई परास्त गर्न देश बाहिर र भित्रकै शक्ति लाग्यो, देश बाहिरका शक्तिसँग लड्न सफल त भयौँ, तर भित्रको प्रहार बढी भयो ।’
अनि उनै ओलीलाई अहिले यो प्रश्न गर्न सकिन्छ, यही फागुन ११ गते नेपालका लागि भारतीय राजदूतले एमाले अध्यक्षसँग बालकोटमा भेट गर्दा नेपालका परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए त ?
राष्ट्रपतिबाट प्रस्तावित भनिएकी र उनकै दलबाट प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्रीले त भर्खरै भनेकी थिइन्, ‘… महत्त्वपूर्ण सम्झौतामा पनि परराष्ट्र मन्त्रालयलाई जानकारी नदिईकन एकै पटक सम्झौता हुँदा मात्रै दूतावासबाट प्रतिनिधि बोलाउने गरेको पाइन्छ । यस्ता विषयमा म गम्भीर र निर्मम हुनेछु । हाम्रो नेतृत्वले राजदूतसँग भेट्नै नहुने भन्ने होइन । फुर्सदमा भेटे हुन्छ तर भेटको सबै अभिलेख कतै त रहनुप¥यो नि । त्यससँग सम्बन्धित निकाय परराष्ट्र मन्त्रालय हो ।’
(‘हिमालप्रेस डटकम’, २०७९ माघ ११)
अनि, वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको भनिएको त्यस भेटघाटमा हाम्रै पूर्वपरराष्ट्रमन्त्रीले ती राजदूतलाई यहाँको राष्ट्रपति निर्वाचनबारे चासो राख्नचाहिँ किन दिएको होला ? किन यो हाम्रो आन्तरिक मामिला हो भनेर पन्छिन सकेनन् ?
एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार उठाउनेबारे निर्णय गर्न बसेको शनिबारको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री प्रचण्डले बाह्य दबाब थेग्न नसकी प्रगतिशील गठबन्धन छाडेर दक्षिणपन्थी गठबन्धनतिर लागेको आरोप लाग्यो ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रा एसडी मुनिले तोकेका नाममध्ये रामचन्द्र पौडेल पर्नु उतैको प्रस्ताव हो कि, गठबन्धनकै योग्य र विवेकपूर्ण निर्णय हो, यो समयक्रमले बताउला । तर, दलहरूबाट अझ पटक पटक वामपन्थीबाट सधैँ कम्बल ओढेर घिउ खाने कर्म जस्तो देशीविदेशीको नाम लिने तर, तिनैसँग प्रतिगमन निम्त्याउने र सार्वभौमिक स्वतन्त्रतालाई नै तिलाञ्जलि दिने गरी हिमचिम गर्ने कर्म भने अब रोक्नुपर्छ ।
राजावादी राप्रपा र प्रदेश विरोधी रास्वपासमेत प्रचण्डको सरकारमा आइसकेका छन् भने, स्वदेशी प्रतिगमनकारी कसलाई पो भन्ने र ? नेपाललाई उल्टो बाटो हिँडाउने र स्वतन्त्र निर्णय गर्न नदिने काम यदि साँच्चिकै अर्कै तत्त्वले गरेका छन् भने तिनलाई अँध्यारामा ढुङ्गा हान्ने हैन, स्पष्ट शब्दमा ती तत्वहरुको नाम लिनुपर्छ र नेपाली जनतालाई पनि राम्ररी चिन्न सक्ने शिक्षित बनाइदिनुपर्छ ।
आफ्नो असफलतामा तिनै शक्तिलाई गाली गर्ने र कसैलाई रिसका झोंकमा देशीविदेशी तत्त्वको भरिया भएको बिल्ला कसैले कसैलाई लगाउनुहुन्न । आफ्नो ‘ढोक्सा’ मा माछा परुन्जेल ठीक, नभए देशीविदेशी षड्यन्त्र देख्नु नाच्न नजान्ने, आँगन टेढो उखानसरी हुन जान्छ ।
पूर्वराजा ज्ञानेन्द्रले समेत सहकार्य गरौँ भनिसकेको तथा विस्तारवादी, प्रभुत्ववादी–साम्राज्यवादी भनिएका सबै अत्यन्त हितकारी मित्र भइसकेकाले अब राजनीतिक–कूटनीतिक भाषामा अर्कै शब्द–पदावाली प्रयोग गर्नु राम्रो हुने छ ।