मधुपर्क सम्मान कार्यक्रममा सादर निमन्त्रणा !
जेठ ३० गते बिहान ९ बजे
बानेश्वर बैंक्वैट, थापागाउँ, बानेश्वर ।
हामी चिया खाएर कार्यक्रम आरम्भ गर्छाैँ, खाना खाएर छुट्टिन्छौँ
‘मधुपर्क’ परिवार यहाँको पर्खाईमा रहने छ ।’
‘मधुपर्क’का सम्पादक जयदेव भट्टराईले जेठ २७ शनिबारतिर नै मेसेन्जरमा निम्तो हालिसकेका थिए । सायद प्रायः सबैले यस्तै निम्तै पाए होलान्, कतिले फोन कल पनि पाए होलान् । कतिलाई निम्तो कार्ड पनि बाँडियो कि ?
जे होस्, निम्तो मधुपर्कीय थियो र अफिस ढिलो जाने गरी कार्यक्रममा जाऊँ जाऊँ लाग्ने नै थियो । व्यक्तिगत रूपमा मलाई आएको निम्तो त पहिलो नै थियो सायद । तीन कथा, एक निबन्ध र एक कविता–मेरो मधुपर्कमा जम्मा यति रचना प्रकाशन भएका रहेछन् । कथा त वसन्तप्रकाश उपाध्यायले नै छापेका हुन् । त्यसपछि लेख्न पनि सकिएन ।
०००
‘मधुपर्क मासिकको ५६औँ वार्षिकोत्सव तथा मधुपर्क सम्मान समर्पण समारोह’, मिति २०८० जेठ ३०, स्थान बानेश्वर बैंकेट, थापागाउँ ।
कार्यक्रमका उद्घोषक त्रिभुवनचन्द्र वाग्लेले साढे ९ बजेपछि नै कार्यक्रम सुरु गर्न थाले । मञ्चमा बसाइए कार्यक्रमका सभापति जयदेव र प्रमुख अतिथि वैरागी काइँला, सम्मान चयन समितिका संयोजक गणेश रसिक, सम्मानित पुष्कर लोहनी र प्रभा भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।
नायब कार्यकरी सम्पादक वाग्ले भन्दैथिए, ‘हामी डायस (मञ्च)लाई भन्दा व्यास(विद्वान्)लाई महत्त्व दिन्छौँ, को तलमाथि पर्याे, त्यति महत्त्व दिन्नौँ ।’
सम्मानितमध्येका ‘मधुपर्क’का पूर्वसम्पादक कृष्णभक्त श्रेष्ठ चाहिँ शारीरिक अस्वस्थताले कार्यक्रमस्थल आउन सक्नुभएन । संंस्थानका कर्मचारीले अतिथिहरूलाई मालाखादा लगाइदिए । महाप्रबन्धक ऐरीले फ्रेममा सजाइएको ‘गोरखापत्र’को पहिलो अङ्कको प्रतिरूप दिएर संयोजक रसिकलाई स्वागत गरे ।
विसं २०२५ जेठदेखि प्रकाशन हुन थालेको ‘मधुपर्क’ले ‘मधुपर्क सम्मान’ भने तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, सञ्चार मन्त्रालयका सहसचिव तथा अध्यक्ष हरिप्रसाद नेपाल, महाप्रबन्धक किशोर नेपाल र सम्पादक कपिल घिमिरे भएका बेला दिन थालेको रहेछ । सुरुमा गद्यमा कमल दीक्षित र पद्यमा मोहन कोइरालालाई दिइएको थाहा भयो । महामारीका बेला भने दुई वर्ष रोकिएछ ।
यसका पहिलो सम्पादक गोपालप्रसाद भट्टराई हुन् । पछि श्रीप्रसाद गौतम, रामचन्द्र गौतम आदि भएका रहेछन् । राजा महेन्द्रका पालामा भारतबाट ‘नवनीत’, ‘कादम्विनी’, ‘सारिका’, ‘माया’ जस्ता डाइजेस्ट पत्रिका प्रकाशन भई नेपालको बजार छोप्न थालेपछि यदुनाथ खनाल, बालकृष्ण सम आदिसँगको परामर्शपछि ‘मधुपर्क’ जन्मेको बताइन्छ ।
समले त यसको पहिलो आवरण नै बनाएका थिए रे । पहिलो अङ्क त आर्ट पेपरमै प्रकाशन भएको रहेछ । विसं २०४१ मा भने नगेन्द्र शर्मा गोप अध्यक्ष हुँदा यसलाई पारिवारिक डाइजेस्टको रूप दिइएको रहेछ । त्यतिबेला लोककथा, यौनकथा विशेषाङ्क पनि प्रकाशन भएको रहेछ ।
०००
उद्घोषकले सम्मानको चरण सुरु हुनै लागेको जानकारी दिए । दर्शक दीर्घाबाट आवाज आयो– पानस, पानस । उद्घाटन चरण झन्डै छुट्न लागेको । कृष्णभक्तलाई दिइने सम्मान जयदेवले लिए । उनले संस्थानका पूर्वमहाप्रबन्धक कृष्णभक्तको सन्देश लिएर आएका रहेछन्, ‘मधुपर्क मेरो आफ्नै परिवार हो । शारीरिक अस्वस्थताले आउन सकिन । सम्मान जयदेवले लिऊन् ।’
उनले सो सम्मान काइँलाबाट ग्रहण गरे र मङ्गलबार नै सम्मान श्रेष्ठका घरमा दिने जानकारी दिए । पुष्कर लोहनीलाई काइँलाले मजासँग नै हात मिलाएर र सम्मानपत्र र रकम थमाइदिए । दर्शकदीर्घाबाट सम्मानपत्र पढ्न माग भयो । प्रभाले भने मधुपर्क प्रतिभा सम्मान पाइन् ।
उद्घोषकले सम्मानितहरूलाई देशले नजानेको, नचिनेको हैन भन्दै ‘चर्चित व्यक्तित्व’ महेश पौडेललाई तिनको परिचय दिन बोलाए । कवि पौडेल भन्दै थिए, ‘तीन सम्मानितलाई पछिल्लो पुस्ताले कसरी हेरेको छ भनी ‘मधुपर्क’ ले जान्न खोजेको होला । विसं २०३३ मा प्रकाशित ‘कृष्णभक्त श्रेष्ठका कविता’ प्रयोगवादी कविता हो जुन आधुनिक नेपाली कविताको कोसेढुङ्गा नै हो । ‘मान्छेको कथा’, ‘खै मैले आफूलाई ठम्याउनै सकेको छैन’ पनि अति शक्तिशाली छन् ।
क्लिष्ट, अलि बढी नै प्रतीकात्मक, सामान्य पढाइमा बुझ्न कठिन उनका कविता सत्ता र शासक अनुदार भएका बेला श्रेष्ठले प्रतीकात्मक, वक्रोक्तिपूर्ण, कठिन, क्लिष्ट स्वाभाविक हुन् भन्दै जोखिम मोलेर र स्वाभिमानलाई भाँच्न नदिई उनले प्रयोगधर्मिता अभिव्यक्त गरेको सुनाए ।
उनले टिएस इलियटले युरोपेली साहित्य बुझ्न युरोपेली मानसिकता हुनुपर्छ भने झैँ नेपालको त्यतिबेलाको परिस्थिति बुझे मात्र श्रेष्ठहरूका कविता बुझिने बताउँदै गायत्री स्पिभाकको ‘चार –पाँच पेज पढ्न पनि जाँगर नलगाउनेले हामीहरूका कविता नपढे पनि हुन्छ’ भन्ने भनाइ पनि स्मरण गरे । ‘अब यस सभाले त्यो क्लिष्टताको अनुमोदन गरेको छ’, अनुवादक पौडेलले भने ।
उनले भूपी, पारिजात र शङ्कर लामिछानेका दौंतरी लोहनीको पुरस्कारका स्थानमा रहेको ड्यास अर्थात् खाली (–) मेटिएको जनाउँदै उनी जोखिमको नाम नै रहेको ठहर्याए । लोहनीका ‘अदृश्य मान्छे’ उपन्यासका सबै पात्रमा पुरुष, महिला, तेस्रोलिङ्गी स्वभाव रहेको जनाउँदै उनले भने ‘यौन अश्लीलता होइन, एउटा मानसिकता हो ।’
पूर्वीय र पाश्चात्य दर्शन एवं साहित्यका ज्ञाता लोहनी जोखिम मोलेर नै यहाँसम्म आएको कथाकार पौडेलले बताए, ‘१८ र ८१ उमेरमा पनि एउटै लेखिरहनु कम होइन, कहिल्यै बुढो नहुने लोहनीको नयाँ मुभमेन्टको नयाँ विश्लेषण र व्याख्या गर्नुपर्छ ।’
उनको पनि ‘वर्जित’ र ‘तथाकथित साहित्य’ लाई सभाले अनुमोदन गरेको विचार अनुवादक पौडेलले राखे । हाल श्रवणशक्तिमा कमजोर लोहनी मुुसुमुसु हाँस्दै पौडेलका कुरा सुनिरहेका थिए । प्रभाका कविता सुललित र सुन्दर रहेको बताउँदै किशोर उपन्यास लेखक पौडेलले बालसाहित्यमा पनि उनी उत्तिकै संलग्न भएको जानकारी दिए ।
उद्घोषकले कार्यक्रममा सहभागी विशिष्ट बुद्धिजीवी, साहित्यकार एवं पत्रकार जयराज आचार्य, शैलेन्द्र साकार, रोचक घिमिरे, अशेष मल्ल, हरिहर विरही, पी खरेल, धर्मेन्द्र विह्वल, पद्मावती सिंह, हिरण्यकुमारी पाठक आदिको नाम बिचैमा लिए । सम्मान चयन समितिका संयोजक रसिकले श्रेष्ठको सुस्वास्थ्यको कामना गर्दै आफू भोजपुरबाट काठमाडौँ आउँदा श्रेष्ठ, लोहनी आदि २० का दशकमा चम्किसकेको बताए ।
आफूहरूले चर्चाका शिखरमा पुगेका भूपी शेरचन, शङ्कर लामिछाने, ध्रुवकृष्ण दीप, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, मदन रेग्मी, प्रेमराज रेग्मी, अभि सुवेदी, वसन्त सिटौलालाई पनि भेट्ने गरेको बताउँदै गायक रसिकले श्रेष्ठ र लोहनीलाई सम्मान गर्न पाउँदा आफू भाग्यवान् भएको जनाए र शुभकामना दिए ।
उनले विसं २०७९ को सम्मान पुरुषोत्तम बस्नेत, मोमिलालगायतलाई दिइएको स्मरण गर्दै हालै दिवङ्गत पूर्वसांसद बस्नेतप्रति श्रद्धाञ्जलि दिए । रसिकले यति नभनेको भए पनि हुन्थ्यो, ‘म त थपना मात्र हो, जयदेवलगायतले यसमा भूमिका निर्वाह गरे ।’
त्यसपछि बोल्ने पालो आयो प्रभाको । उनले भनिन्, ‘तोते बोली बोल्दै गर्दामा नै ‘गोरखापत्र’ एक आदर्श रह्यो । यसप्रतिको विश्वास र यसको विम्ब यति प्रभावकारी थियो कि अरू पत्रिका पनि ‘गोरखापत्र’ नै लाग्थ्यो । बालक, युवा, सबैलाई भेला पार्ने बूढो चौतारी ‘गोरखापत्र’ हजारौँ वर्ष अमर रहोस् । गाउँदै, गुनगुनाउँदै हिँड्ने म अल्लारे बटुवालाई चयन गरेकामा आभारी छु ।’
उनले समारोहमा ‘चङ्गा’ शीर्षक कविता पनि वाचन गरिन् । उनका पिता नारायणदत्त शास्त्री तनहु्ँ हुलाकबाट गोरखापत्र संस्थानमा रचना पठाउँथे ।
एउटा संयोग यस्तो पनि प¥यो, उनका पति सुरेन्द्रराज भट्टराई सूचना विभागका कर्मचारी थिए र ‘मधुपर्क’ का लागि नियमित रूपमा कला समीक्षा गरिरहन्थे । उनका छोराछोरी पनि संस्थानकै बालबालिका लक्षित सहप्रकाशन ‘मुना’ मा लेख्ने गर्छन् ।
कथाकार लोहनीको कुरो सुन्न सबै लालायित थिए । उनले आफूले सम्मान लिने परम्परा छाडेको बताए पनि ‘मधुपर्क’ले निकै माया गर्ने गरेकाले सम्मान लिएको स्पष्टीकरण दिए । ‘म यौनवादी होइन, बुझ्दै नबुझी मानिसहरू यस्तो आरोप लगाउँछन् । मेरा मनोवैज्ञानिक, होमोसेक्सुअल कथा प्रकाशित छन् । म मान्छेका कुण्ठा र डिप्रेसनलाई उतार्छु । यस्तो कथा, उपन्यास पारिजात पनि लेख्थिन् । मेरा बाबुले मलाई लेख्न नदिएको भए म कहाँ साहित्यकार हुन सक्थेँ र ?’ उनी अहिले हाइकु, मुक्तक, तान्का, ध्यान कविता लेखिरहेका छन् ।
ध्यान कविता हिन्दू–बौद्ध दुवै परम्परासँग सम्बन्धित छन् । लोहनी भन्दैथिए, ‘मदन रेग्मी, वासु शशी, कृष्णभक्त, मैले मोडर्न कविता ल्यायौँ । म त आफूले जानेको ज्ञान बाँड्छु । मलाई पदको लोभ छैन ।’ दर्शकदीर्घाबाट ‘कति बोलिरहेका’ भनी हल्ला हुन थाल्यो ।
उद्घोषकले चिट दिए, तैपनि ‘कौडी’ का सर्जक बोलिरहे, ‘म २०१० देखि लेखिरहेको छु । ‘इन्दु’ पत्रिकामा ताना सर्मा, बालकृष्ण सम, वामदेव पहाडी, मैले मवीवि शाहको आलोचना गर्यौ । ‘हालखबर’ मार्फत मदनमणि दीक्षित, रमेशनाथ पाण्डे, मैले धेरै आलोचक जन्मायौँ । पछि ताना, सम राजाप्रति लम्पसार परे । अहिले ममाथि लेख्ने कोही छ भने महेश पौडेल छ ।’ उनले समारोहमा ‘थर्ड सेक्स’ बारे लेख्ने कोही छ भनी चुनौती पनि दिए ।
‘मेरो अश्लील एक शब्द कसैले देखाओस्’, उनले अर्काे च्यालेन्ज दिए ।
संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी (गुल्मी) तिलोत्तमा नगरपालिका (हालको बसोबास) मा हवाइ उडानसम्बन्धी कार्यक्रममा भाग लिएर आउन लाग्दा प्लेन डिले भएछ, तैपनि कार्यक्रमस्थलमा आइपुगे । लोहनीपछि संस्थानका महाप्रबन्धक ऐरीले राम्रै बोले, “ ‘मधुपर्क’ ले लेखक, पाठक सबैलाई जोडेको छ । हामी पुरस्कार–सम्मानमा व्यवस्थापनबाट हस्तक्षेप गर्दैनौ ।”
प्रमुख अतिथि काइँलाले पुरानो माल भनेको पुरानै हो भन्दै मधुपर्क सम्मानमा कर काटेकामा आपत्ति जनाए । मुख्य सचिव डा विमल कोइराला हुँदा नै कर नकाट्ने भनिएको जनाउँदै उनले हतकडी लागे पनि ‘गोरखापत्र’ ले आँट गरोस्, कर नकाटियोस्, बेरुजु परे परोस् भने ।
आफ्नो बोल्ने पालामा संस्थानका अध्यक्ष सुवेदीले पनि नारायण ढकाल, मधुवन पौडेल आदिको नाम लिँदै ‘मधुपर्क’ लाई गुणस्तरीय र उन्नत बनाउन, डिजिटल रूपान्तरण गर्न, देशविदेशमा रहेका करोडौँ पाठकमा पु¥याउन गृहकार्य भइरहेको जानकारी दिए ।
उनले आगामी वर्ष सो सम्मानका साथ राशि रु ५० हजार पुर्याइने घोषणा गर्दै कर काटिए पनि उक्त रकम संस्थानले नै बेहोर्ने प्रतिबद्धता जनाए । वैरागीले पनि गोरखापत्रको पहिलो अङ्कको प्रतिरूप पाए । अन्त्यमा उद्घोषकले ‘प्रसाद ग्रहण गरेर जान’ सबैलाई आग्रह गरे भने जयदेवले सबैलाई कृतार्थ बनादिएकामा कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा ‘मधुपर्क’ का पूर्वसम्पादक कृष्णभक्त मात्र हैन, उदय निरौला, विजय चालिसे, श्रीॐ श्रेष्ठ ‘रोदन’ र वसन्तप्रकाश उपाध्याय भने कतै देखा परेनन् । समारोहकै मौका छोपेर ‘मधुपर्क’ र ‘गोरखापत्र’ का पूर्वसम्पादक कमल रिजाल आफ्नो ‘धर्मदर्शन’ (प्रयोगात्मक) र कृष्ण प्रसाईँ आफूले सम्पादन गरेको ‘सम्झनामा तारानाथ शर्माः संस्मरण र समवेदना तथा आफ्नो मौलिक त्रिभाषिक कृति ‘घामको आय, इटर्नल रिजिम अफ द सन, धूप की उम्र’ साथीभाइलाई बाँड्दै गरेका भेटिए ।
‘मधुपर्क’का पूर्वसम्पादक घिमिरेले कार्यक्रमपूर्व र पश्चात् आफूसँग नजिकै रहेका पत्रकार र साथीभाइहरूलाई ‘मधुपर्क’ बारेका धेरै सूचना दिए । दूध, दही, घिउ, चिनी, मह आदि पदार्थको सम्मिश्रणतुल्य ‘मधुपर्क’ सम्मान समारोह सकिँदा बिहान साढे ११ बजिसकेकाले मांससहित खाना तथा आइसक्रिम र दही डेजर्ट लिन पाहुनाहरू हतारिएका थिए ।