नेपाल, भारत र चीन दुई ठूला देशबिच रहेको एउटा सानो भूपरिवेष्टित देश हो, नेपाल । सानो जनसङ्ख्या, सानो देश र अहिलेसम्म पनि गरिबीको दुष्चक्रमा फसेको देश भएको हुँदा यी दुई ठूला देशको चेपुवामा परिरहेको छ ।
यी दुई देशले घेरिएको र समुद्री मार्ग नभएको हुँदा नेपालको विकासमा दक्षिणको भारत र उत्तरको चीनको सहयोग अनिवार्य नै छ । यिनीहरूको सहयोग नभई नहुने एकातिर छ भने भूगोलको दृष्टिकोणबाट पनि यी छिमेकी देशहरू त्यत्तिकै महत्त्वपूर्ण छन् ।
आर्थिक विकासको दृष्टिकोणबाट अग्रता लिएका यी दुई देशबाट नेपालले जति फाइदा लिनुपर्ने थियो त्यो भने लिन नसकेको निश्चय नै हो । यी दुई देशको मन जसरी जित्नु पर्ने थियो त्यो गर्न नसकेको कारण नेपालले धेरै समस्या झेलिरहनु परेको छ । यसमा नेपालको कमजोरी देखिएको छ । अर्को कुरा यी दुई देशबिच अघोषित शत्रुता पनि रहेको छ । समय समयमा सीमाको विषयलाई लिएर झगडा हुँदै आएको छ ।
छिमेकी भएपछि बेला बेलामा मनमुटाब हुनु स्वाभाविक नै हो र हुन्छ पनि । बुझ्न पर्ने कुरा के छ भने त्यो कतिसम्म जायज छ ? नेपालको दक्षिणी सीमा भारतसँग जोडिएका २३ ओटा जिल्लामा २६ ठाउँमा सीमा विवाद छ र हालसम्म सुल्झाउन सकिएको छैन । समय समयमा विवाद आइरहेकै हुन्छन् ।
तर, उत्तरतर्फको चीनसँग भने त्यस्तो खासै विवाद देखिएको छैन । केही सानातिना समस्या भए पनि सुल्झिँदै आएको छ । उत्तरतर्फ ठूलो हिमाली भूभाग भएका कारण पनि सीमा समस्या नआएको हुन सक्दछ ।
दुई ढुंगाको तरुल जसरी दायाँ–बायाँ गर्न सक्दैन नेपाल त्यस्तै अवस्थामा छ । कारण उत्तरतर्फ विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन छ भने दक्षिणतर्फ पनि आर्थिक दृष्टिकोणबाट प्रतिस्पर्धामा लम्किँदै गरेको विशाल भारत छ । यी दुई देशबिच चेपुवामा नेपाल अवस्थित भएको हुँदा दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न नेपालको लागि कठिन नै छ ।
एउटाको सहयोग स्विकार्दा अर्कोको दृष्टिकोण नराम्रो हुने र अर्कोको सहयोग स्विकार्दा दोस्रोको दृष्टिकोण नराम्रो हुने भएकोले नेपालले सुमधुर सम्बन्ध कायम गर्न निकै मुस्किल भइरहेको अहिलेको अवस्था हो । नेपालले समव्यवहार गरे पनि भारत र चीन दुवैलाई शंका उब्जिएको अनुमान गर्न सकिन्छ ।
विश्व मानचित्रमा अमेरिका शक्तिशाली भएको कारण अहिले उसको प्रभाव बढ्दै गएको छ । अमेरिकाको प्रतिस्पर्धी चीन हुँदै गएको छ । चीनको स्वशासित भूमि तिब्बतमा अमेरिकी प्रभाव पर्ने सम्भावनालाई मध्यनजर गरेर नै नेपाललाई आफ्नो पक्षमा राख्न चीनले चाहेको छ भने अमेरिका भने त्यस्तो देख्न चाहँदैन ।
अमेरिकाले तिब्बतमा अशान्ति फैलाएर आफ्नो स्वार्थ पूर्ति गर्न चाहेको चीनको बुझाई देखिन्छ । अर्को कुरा अमेरिकाले भारतलाई आफ्नो पक्षमा लिएपछि तिब्बतमा अशान्त उत्पन्न गराउन सहज हुने भएकोले पनि नेपाल चेपुवामा पर्न सक्ने सम्भावना बढ्दै गएको देखिन्छ । यदि त्यस्तो अवस्था सृजना भयो भने नेपालको लागि दुर्भाग्य हुनेछ । यी कुरालाई नेपालले विशेष ध्यान पुर्याउनु पर्दछ ।
नेपालको चीनसँग सीमा विवाद नभए पनि भारतसँग भने रहेको छ र अहिलेसम्म टुङ्गिएको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा संघीय संसदले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको चुच्चे नक्सा पारित गरेको थियो । यो विषयलाई लिएर भारतले नेपाल चीनको पोल्टामा पुगेको भन्नसम्म भ्याएको थियो । यसको अर्थ नेपालसँग भारत चिढिएको थियो । अहिले पनि नेपालसँग भारत खुसी भएको अवस्था छैन ।
चुच्चे नक्सालाई नेपालस्थित सबै राजदूतावास र कूटनीतिक नियोगहरूलाई जानकारी गराउने भनी नेपालले निर्णय गरेको थियो । यो निर्णयको आधिकारिक जानकारी दूतावास तथा नियोगहरूसमक्ष नपुगे पनि चीनलाई थाहा थिएन भन्ने कुरामा भने विश्वास गर्न सकिँदैन । हुनसक्छ यसै कुरालाई आधार लिएर चीनले हालै जारी गरेको उसको नक्सामा दक्षिणतर्फ रहेको नेपालको भौगोलिक नक्सामा चुच्चे नक्सा नदेखाई उही पुरानो बुच्चे नक्सा देखाएकोले नेपालको मन दुख्नु स्वाभाविक हुन आउँछ ।
संसदले पारित गरेको नयाँ नक्सालाई परराष्ट्र मन्त्रालयमार्फत सबै राजदूतावास, कूटनीतिक निकाय र संयुक्त राष्ट्र संघमा पठाउनुपर्ने थियो । त्यस बेलामा पठाउन छुटेको भए पनि पछि पठाउन सकिने थियो । यस सम्बन्धमा नेपाल झनै पछि परेकै हो । किन तत्काल पठाइएन यो अर्कै छलफलको विषय हुनेछ ।
नेपालले चुच्चे नक्सा जारी गर्दा भारत त यसै रिसाएको अवस्था छ । अब त चीन पनि रिसाएको देखिन्छ । किनभने, उसले हालै जारी गरेको नक्सामा नेपालको नयाँ नक्सा देखाउँदै देखाएन । देखायो त, उही बुच्चे पुरानो नक्सा ।
यसले के स्पष्ट पार्दछ भने, नेपालको सम्बन्ध न त भारतसँग राम्रो देखियो न त चीनसँग नै । त्यस कारण नेपालको छिमेकी देशसँगको सम्बन्ध निकै कमजोर रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
नेपालको संविधान जारी गर्दा भारत रिसाएको कारणले गर्दा नाकाबन्दी गरेको पनि हो र बेलाबेलामा सानातिना समस्या नेपालले भोगी पनि रहेको हो । यस कारण नेपाललाई भारत रिसाए पनि चीन छँदै छ भन्ने एक प्रकारको भावना विकसित भएको थियो । अहिले त चीनसँगको त्यो भावना पनि मेटिन गएको छ ।
चीनले नेपाललाई हेर्ने दृष्टिकोण फरक गरेको हुनाले २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका अहिलेसम्म पनि पूर्ण रूपले खुलाइएको छैन । यसरी दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेका देखिन्छन् ।
निरन्तर सहयोग गर्दै आएका छिमेकी देशहरूले यसरी परिवर्तन हुनुमा नेपालकै कूटनीतिक सम्बन्ध कमजोर भएको हो की भन्न पनि सकिन्छ ।
चीन नेपालप्रति सशङ्कित हुनुपर्ने मुख्य दुई कारण देखिन्छन् । एक त चीनलाई सधैँ टाउको दुखाइको विषय बनेको तिब्बत नै हो । तिब्बतमा समस्या आउने भनेको नेपालबाट सहयोग हुन नसकेको उसको बुझाई रहिआएको छ । तिब्बतको मामिलामा नेपालले एक चीन नीति लिएको भए पनि चीन त्यति विश्वस्त भएको छैन ।
अर्को कुरा, नेपालले एमसीसी स्वीकार गरेर कार्यान्वयन गरिरहेको छ भने बीआरआईलाई उपेक्षा गरेको देखिन्छ । यसले गर्दा नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको हुन सक्दछ ।
चीनका लागि अर्को टाउको दुखाई भनेको एमसीसी हो । नेपाल यसमा प्रवेश गरिसकेको र कार्यान्वयनको चरणमा भएकोले कतै नेपालमा अमेरिकी प्रभाव त पर्ने होइन भन्ने पनि उसलाई परेको देखिन्छ । अमेरिकाको प्रभाव पर्न गयो भने निश्चय नै तिब्बत असुरक्षित हुने उसको अनुमान हुन सक्दछ ।
तिब्बतको मामला र एमसीसी नै उसको लागि प्रमुख मुद्दा भएको अहिलेको अवस्था हो । यी विषयमा नेपालबाट आवश्यक सहयोग नभएको उसको बुझाई भएको सहजै अनुमान गर्न सकिन्छ ।
विश्व बजारमा चीनले आफ्नो बजारीकरण विस्तार गर्दै आएको छ । ठूलो जनसङ्ख्या भएको कारण पनि उसलाई कुन देशमा आफ्नो बजार बढाउँदा लाभ बढी हुन्छ त्यो देशसँग सामिप्यता बढाउनु कुनै नौलो कुरो होइन ।
भारतसँग जति दुस्मनी भए पनि चीनको लागि भारतसँग व्यापार गर्नु जति फाइदा छ अरू देशसँग छैन । किनभने एक त भारत नजिक छ अर्को भारतको जनसङ्ख्या धेरै भएको कारणले पनि उसका धेरै सामान भारतमा खपत हुन सक्दछन् ।
अन्य कुरालाई यथावत् राख्दा व्यापारिक दृष्टिकोणबाट भारतलाई बिच्काउनु उसको लागि अहित हुने हुँदा सायद उसले जारी गरेको नयाँ नक्सामा नेपालको पुरानो नक्सालाई समावेश गरेको हो । यसरी नेपाललाई पर पारेर भारतलाई वर राख्नु चीनको चलाखीपन हो भन्ने कुरा नेपालले बुझ्नु पर्दछ ।
नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना भनेको लिम्पियाधुरा हो । यस क्षेत्रलाई प्रभाव पार्ने गरी कुनै सम्झौता गर्नु हुँदैन भन्ने कुरा चीन र भारत जानकार हुँदाहुँदै यी दुई देश मिलेर जुन व्यापारिक सम्झौता गरे त्यसबाट के बुझ्नु पर्दछ भने उनीहरूले नेपाललाई उपेक्षा गरेकै हुन् । यसमा कुनै शंका छैन । नेपालको भूमिबाट सडक निर्माण गरेर दुई देशबिच व्यापार सम्झौता गर्ने, अनि नेपाललाई कुनै जानकारी नदिने ? कतिसम्म नेपालप्रति हेपाहा प्रवृत्ति हो बुझ्नु पर्दछ ।
नेपाल र चीनको सम्बन्ध सदियौँदेखि चलिआएको छ र यसलाई अझ बढी सुमधुर बनाउनु दुवै देशको कर्तव्य हो । त्यस कारण दुई देशबिच देखिएका समस्याहरूलाई समाधान गरिनु पर्दछ । यसैमा दुई देशको भलाइ देखिन्छ ।
यदि, चीनले नयाँ नक्सामा नेपालको चुच्चे नक्सा देखाएको भए भारतलाई नैतिक दबाब पर्ने थियो । नेपालले छिमेकी मित्र देश र संयुक्त राष्ट्र संघलाई कुनै औपचारिक जानकारी नदिएको कारणले गर्दा पनि चीनले उसको नक्सामा नदेखाएको हुन सक्दछ ।
भरखरै प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । भ्रमणको समयमा चीनको मन जित्ने गरी प्रधानमन्त्रीले चुच्चे नक्साको विषयमा आफ्नो धारणा राख्नु पर्दथ्यो तर प्रधानमन्त्रीले यस बारेमा केही नबोलेको कुरा सार्वजनिक भएको छ । प्रधानमन्त्रीले किन राख्न सकेनन् नेपाली जनतालाई जानकारी दिनुपर्ने हो त्यो पनि भएको छैन ।
चुच्चे नक्सा पठाउने सम्बन्धमा नेपालको तर्फबाट केही प्राविधिक त्रुटि हुन गएको कुरा नेपालले स्विकार्नु पर्दछ र चीन र भारतले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने कुरालाई स्वीकार गरेर छिमेकीप्रतिको सुमधुर सम्बन्ध कायम गर्नु पर्दछ ।
(लेखक, नेपाल सरकारका पूर्व उपसचिव हुन् ।)