विश्व शान्ति, मानवाधिकारको संरक्षण, अन्तर्राष्ट्रिय कानुनको पालना र स्वतन्त्र वातावरणमा मानवजातिको आर्थिक– सामाजिक विकासको उद्देश्य राखेको संयुक्त राष्ट्र सङ्घका महासचिव अन्तोनिओ गुटर्रेसको नेपालको भ्रमण नेपालका राष्ट्रिय चाड दसैँ र तिहारका बिच नै भएको छ । यी चाडपर्व नेपालीलाई एकतामा जोड््ने सेतु पनि हुन् ।
विश्व शान्तिलगायत मानवाधिकार संरक्षण जस्ता पवित्र कामका लागि जन्मेको विश्वसंस्थाका प्रमुखको नेपाल आगमन नेपालका यस्तै महान् चाडबिच हुँदा नेपाली–नेपालीबीचको मेलमिलाप र एकता प्रदर्शन मात्र होइन विश्वभरको शान्तिका लागि अझ बढी छलफल गर्ने अवसर नेपालले पाएको र दिएको छ ।
इजरायल र हमासबिच चलेको युद्धका बेलामा पनि महासचिव गुटर्रेसले नेपालको भ्रमण गरेर यहाँको शान्तिप्रतिको चाहना र प्रयासलाई झन् महत्त्व दिएको महसुस हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत महिना राष्ट्र सङ्घ महासभामा सहभागी भएर महासचिवलाई दिएको निमन्त्रणाप्रति मन्जुरी दिई छोटै अवधिमा यहाँको भ्रमण गराउन सक्नु नेपाल र नेपालीका लागि सुखद पक्ष हो, नेपालको शान्तिप्रतिको प्रतिबद्धताको परिणाम हो ।
नेपालको शान्ति प्रक्रियालाई ऐन र आयोगमार्फत पनि टुङ्ग्याउने कार्यमा राष्ट्र सङ्घले सहयोग गर्ने वचन र सद्भाव महासचिवबाट पाएकाले पनि यस भ्रमणको महत्त्व रहन गएको छ ।
राष्ट्र सङ्घले नेपाल र नेपालीको विश्व शान्तिप्रतिको प्रतिबद्धता र योगदानको गणना ऐतिहासिक कालदेखि नै गर्ने हो भने गौतम बुद्ध र उनका भिक्षुगण र अनुयायीले करिब २६ सय वर्षअघि शान्तिको प्रचारप्रसार गरेदेखि नै गर्नुपर्ने हुन्छ ।
महासचिव गुटर्रेसपछि गणतान्त्रिक शान्तिपूर्ण नेपालले कतारका राजाको स्वागत पनि निकट भविष्यमै गर्ने छ । सो भ्रमणको अवसर पनि मध्यपूर्व अर्थात् पश्चिम एसियाको धनी र शक्तितर्फ उन्मुख कतारले शान्ति र विकासको अपेक्षी नेपाललाई दिएको महत्त्वभित्रै पर्छ ।
नेपालमा मनाइने चाडबाडको कुरा गर्दा यस्तो परम्परा आफ्ना परिवारका सदस्य भेट्ने, रमाइलो गर्ने, मिठो खाने, नयाँ नयाँ घुम्नेमा मात्र सीमित भएन । कुनै एक जातिका धर्म, परम्परा, चाडपर्वका बेला अर्काे जाति पनि मिसिने वा घुलमिल हुने असल परम्परा नेपालमा बस्न थालिसकेको छ ।
हिन्दूको पर्व बडादसैँ, तिहार, फागुपूर्णिमामा बौद्ध, मुसलमान, किरात तथा बौद्धका बौद्धपूर्णिमा, पञ्चदान आदिमा हिन्दू पनि सहभागी हुन्छन् ।
मुसलमानका रमजान, इदुल फित्र आदिमा पनि हिन्दू, इसाई सम्मिलित हुने गर्छन् । तराई–मधेसको मात्र मानिएको छठ पर्व काठमाडौँ, पोखरा उपत्यकाबाट अघि बढेर पहाडतिर पनि पुगिसक्यो । यसबाट नेपाली जातिलाई एकताको भावना बढाउन अझ मद्दत मिलेको छ । यदाकदा दसैँतिहार आदि पर्वको बहिष्कारको नारा चले पनि त्यो केही विद्वान्, टाठाबाठामा मात्र सीमित हुन पुगेको छ ।
दसैँपछि नयाँ नेपाल संवत्समेत मनाइने तिहारले नेपाली समावेशिताको अर्को नमुना दिन्छ । जहाँ मानव मात्र होइन, पशुपन्छीसमेतको पूजाआजा गरेर मानवीय भावनाको दृष्टान्त प्रस्तुत गरिने छ ।
अर्थतन्त्रलाई चलायमान बनाउने र सामाजिक सम्बन्धलाई अझ दरिलो बनाउने यस्ता चाडपर्व सर्वसाधारण जनताका लागि मात्र नभई विभिन्न राजनीतिक दल तथा तिनका नेता–कार्यकर्ताबिच पनि आपसी मेलमिलाप, सद्भाव, एकता गाँस्ने सेतु भएर पनि हामीमाझ आउने गर्छ ।
अन्य बेला जतिसुकै वादविवाद, झैझगडा, आरोपप्रत्यारोप र द्वन्द्वमा ओर्ले पनि दलहरूले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान–जलपान आदि कार्यक्रमका माध्यमबाट भेटघाट भई आपसी कटुता हटाउन मद्दत पुगेका उदाहरण छन् ।
वीपी कोइरालाले विसं २०३३ पुस १६ गते भारतबाट निर्वासित जीवन त्यागेर राष्ट्रिय एकता र मेलमिलापको नाराका साथ स्वदेश फर्केपछि सुरु गरेको कोजाग्रत पूर्णिमा चियापान कार्यक्रमलाई उनीपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले पार्टी कार्यालयमा निरन्तरता दिइरहेका छन् ।
तत्कालीन नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता मनमोहन अधिकारीले पनि विसं २०५१ तिर सुरु गरेको चियापान कार्यक्रमलाई माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले निरन्तता दिए, दिइरहेका छन् । पछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, नेकपा (माओवादी) आदिले पनि चियापान कार्यक्रम सुरु गरे, गर्दै छन् ।
कांग्रेस सभापति देउवाले यही कात्तिक ११ गते शनिबार पार्टी कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा प्रायः प्रमुख दलका सबै नेताहरू पुगे र आपसी सौहार्द बाँडाबाँड गरे । अहिले नयाँ दल, प्रतिगामी दल, पुनरुत्थानवादी समूह आदिले पुराना दलहरूप्रति अनेक तवरबाट तीव्र घृणा राखिरहेको स्थिति छ ।
राजनीतिक सङ्क्रमणकालीन यस अवस्थामा जनतामा छाएको घोर निराशालाई ‘क्यास’ गरी तिनले सामाजिक सञ्जालमा मात्र होइन, भौतिक रूपमा गर्ने गरेको आक्रमण गणतान्त्रिक व्यवस्था, सङ्घीयता र धर्मनिरपेक्षताप्रतिको आक्रमण हो ।
गत एक दुई महिनाअघि कांग्रेसका नेता महेन्द्र यादव त्यस्तै साङ्घातिक आक्रमणमा परे । माओवादी अध्यक्ष दाहाल, तत्कालीन एमालेका अध्यक्ष खनाल, कांग्रेस सभापति सुशीललगायतले पनि यस्तो भौतिक आक्रमण भोगिसकेका छन् ।
जनताले चाहे जस्तो ‘डेलिभरी’ नपाई चरम निराशा छाइरहेका अवस्थामा त्यस्तो क्रम बढ्दै छ र त्यसको अन्त्य कसरी हुने हो, निश्चित छैन । गएको बडादसैँ आवश्यक चिनीविना खल्लो रूपमा मनाउन बाध्य सर्वसाधारण र खसीबोका नै नबिकेर दसैँ मनाउन नपाएका जनताको आक्रोशलाई दलहरुले आँखा चिम्लन मिल्दैन ।
पुराना दल कांग्रेस र नेकपाका विभिन्न समूह तथा वामपन्थ त्याग गरेर समाजवादी, मधेसवादी र जनजातिवादी बनेको दल जनता समाजवादी पार्टी नै अहिले सत्तामा छन् । प्रमुख विपक्षमा पनि नेकपाकै एक समूह एमाले र अन्य विपक्षीमा पनि नेकपाकै समूह छन् –राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी ।
सङ्घीय संसद्मा प्रजातान्त्रिक समाजवादी धारको कांग्रेस र वामपन्थी धारका एमाले, माओवादी केन्द्र भए पनि चर्काे स्वर प्रतिगामी राप्रपा र विचारविहीन नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका छन् ।
राप्रपाको गतिविधिले के देखाउँछ भने ऊ जनताको मतविना नै हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना चाहन्छ भने रास्वपाले पुराना दललाई गरेको आरोप हेर्दा ऊ पनि येनकेन राप्रपा लाइनमै पुगेको देखिन्छ ।
राप्रपा–रास्वपालाई सडकमा साथ दिने समूह एकथरी पुराना दलबाट वाक्क भएकाहरू छन् भने अर्काथरी प्रतिगामी सोचकै छन् जो हिन्दू राज्य र राजतन्त्रामक व्यवस्थामा नै आफ्नो हालीमुहाली हुने देख्छन् । तिनीहरू सुरुमा सङ्घीयताविरुद्ध आवाज छेडेर अन्ततः यस व्यवस्थालाई अफापसिद्ध भएको देखाउन मौका पर्खेर बसेका छन् ।
प्रदेशहरूमा भइरहेका अनियमितता र भ्रष्टाचारले तिनको आवाजलाई झन् झन् मलजल गरेको यथार्थ स्पष्ट नै छ । राजनीतिक प्रतिगमनलाई नै बल पुर्याउने तथा धार्मिक –जातीय असहिष्णुता र घृणा मन पराउने व्यक्ति र जमात पनि यही मौकामा धरान, मलङ्गवा, नेपालगन्ज आदि संवेदनशील क्षेत्रमा भाँडभैलो मच्चाएर कालान्तरमा मुलुकको अस्तित्वलाई नै जोखिममा पार्ने षड्यन्त्रमा छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा भइरहेको ढिलाइले पनि आन्तरिक सुरक्षालाई कमजोर बनाएको छ ।
यस्ता अवस्थामा मुलुकलाई सही दिशानिर्देश गर्नुपर्ने राजनीतिक दलहरूले नै हो । एकै जहाजमा सवार तिनले डुङ्गाभित्रै द्वन्द्व गर्दा आफूहरू सबै डुब्ने सम्भावनालाई नजिकैबाट नियाल्नुपर्छ ।
चाडपर्वमा हुने भेटघाट र मन माझामाझले पूर्वविचार र भावनामा नौ परिवर्तन ल्याइदिन्छ । कांग्रेसद्वारा आयोािजत जलपानमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले परिवर्तनविरोधी प्रवृत्तिलाई निस्तेज पार्ने प्रतिज्ञा गरे । उनले यस्ता कार्यक्रमले राष्ट्रिय एकता, राजनीतिक स्थिरता, सहमति र सहकार्य जुटाएर जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।
कांग्रेस सभापति देउवाले पार्टीभित्रैको मेलमिलापलाई जोड दिए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्न नहुनेमा जोड दिँदै विभिन्न परीक्षामा उत्तीर्ण भई आएका पुराना दलहरू पुनः जाँचिन तयार रहेको बताएर आफूहरूको सान्दर्भिकतामा अझै रहेको स्पष्ट गरे ।
एमालेका अध्यक्ष ओलीले आफूहरूप्रति उठाइएको प्रश्नको उचित समयमा उत्तर दिइने भनी पश्चगामीलाई राम्रै जवाफ फर्काए । अब सत्ता र सदनमा रहेका मुख्य राजनीतिक दलहरूले बोलीमा मात्र नभई आआफ्नो कार्यशैलीमा सुधार गर्दै जनाङ्काक्षाको सम्बोधन र अग्रगामी कदममार्फत प्रतिगामी, दक्षिणपन्थी र उरन्ठेउलाहरूलाई उचित जवाफ दिनुपर्छ ।
हमास–इजरायल युद्धका क्रममा बेपत्ता बनाइएका नेपालका विपीन जोशीको सकुशल फिर्तीको नेपाल भ्रमणकै क्रममा विश्वास व्यक्त गर्नु ‘युएन सेक्रेटरी जनरल’ को नेपालप्रतिको अतिविश्वास पनि हो ।
राष्ट्र सङ्घमा दोस्रो बढी सङ्ख्यामा शान्ति सैनिक दिएर विश्वशान्तिका लागि योगदान दिएको नेपालका राजनीतिक दलहरूको एकता र सहकार्यको भावना, नेपाली शान्ति प्रक्रियाको जतिसक्दो छिटो टुङ्गो लगाउने विचार र विश्व शान्तिप्रतिको अटल विश्वासलाई महासचिव गुटर्रेसले पनि राम्रैसँग अवलोकन र महसुस गरेको हुनुपर्छ ।
तथापि, चियापान वा जलपान वा शुभकामना आदानप्रदान कार्यक्रममार्फत राजनीतिक दलले दिने एकता र सद्भावको सन्देश कसैलाई देखाउन वा सुनाउन र ‘सिजनल’ मात्र नभई दिगो समयका लागि पनि हुनुपर्छ ।
राजनीति भनेको सत्तासुखमा भुल्न, परिवार–आफन्त र आसेपासेलाई सुविधा दिलाउन तथा देशाटन वा तीर्थाटनमा रमाउन मात्र नभएर सत्तामा रहेर वा बाहिर रहेर जनताका आकाङ्क्षलाई सम्बोधन गर्न सकिन्छ भन्ने भावना पनि यस्ता धार्मिक–सांस्कृतिक चाडपर्वमा जाग्न वा जगाउन सके बेस हुने छ ।
अनि सबै धर्म, जाति, समूह आदिका चाडपर्व देशको राष्ट्रिय पर्वका रूपमा नै मानेर राष्ट्रिय एकताका लागि बल पुर्याउन बुद्धिजीवी, प्राज्ञ, नागरिक समाजले पनि भूमिका खेल्नुपर्नेमा दुई मत हुँदैन ।
२०८० कात्तिक १३