Logo
Logo

मिसन ८४ के को तमासा हो ?


1.4k
Shares

गत वर्ष २०७९ वैशाखमा स्थानीय तह तथा मंसिरमै त हो प्रदेश–संघ गरी दुई थरी निर्वाचन भएको । एक वर्ष बितेपछि अब हिसाब गर्दा अर्को चुनाव आउन चार वर्ष न बाँकी छ । तर तपाईं अनुमान नै गर्न सक्नुहुन्न– अहिले चुनावी मौसम जस्तै गतिविधि दलहरूले गरिरहेका छन् । प्रतिपक्षी त निरास छ सत्ता नपाउँदा, तर सत्तारुढ दललाई पनि आफू पछि परिएला कि भन्ने त्रास छ र अर्काले जित्ला कि भनेर चुनावी माहोलमा होमिएका छन् ।

खासगरी नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मामिलामा बढी हौसिएको छ । सो दलका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछाने खासगरी नेकपा (माओवादी), नेकपा (एमाले) गठबन्धनबिच अघिल्लो वर्ष पुस १० गते बनेको सरकारमा वास्तविक हैसियतभन्दा बढी ताकेर उपप्रधानमन्त्री तथा गृहमन्त्री भए । तर, करिब दुई महिनापछि सो गठबन्धन भत्केर अर्को गठबन्धनको सरकार बन्नु र उनको नागरिकता विवादले पुनः सडकमा खस्नुले रास्वपाको हैसियत र वास्तविक धरातल देखियो ।

प्रधानमन्त्रीपछिको राज्यको महत्त्वपूर्ण पद उपप्रधानमन्त्री र शक्तिशाली गृह मन्त्रालय गुमाएको रास्वपा र पत्रकारिताबाट राजनीतिमा हाम्फालेका लामिछानेहरूलाई एक पटक चाखिसकेको सुविधायुक्त पदमा फेरि पुग्नु छ । अहिले त नखाए जस्तो मात्र गरिएको हो रास्ववाविना पनि वर्तमान गठबन्धनको सरकार मजासँग चल्छ भन्ने ठानेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उसलाई नभित्र्याएकोले चोट नदेखाउन अनेक नाटक मञ्चन गर्नुपरेको छ । त्यसैले मिसन ८४ भनी जनताका घरदैलामा कुदेको कुद्यै जस्तो गर्नु उसको बाध्यता पनि हो ।

‘मिसन ८४’ शब्द रास्वपाले ‘क्यास’ गरेपछि अन्य नयाँ पुराना दललाई खपिनसक्नु भएको छ । एउटा अंग्रे्रेजी, एउटा नेपाली शब्द– राष्ट्रिय । अन्तर्राष्ट्रिय दुवै भाषाको फ्युजन– गज्जब छ शब्दावली अथवा फ्रेज । एमाले, माओवादी, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सबैले एकसरो घरदैलो कार्यक्रम भ्याइसके । एमालेले त दुईटा नै सिध्याइसक्यो मध्यपहाडी संकल्प यात्राका नाम दिएर समेत ।

मध्यावधि निर्वाचनका लगि तयारीमा बस्न एमालेले कार्यकर्तालाई भनिसकेको छ । रास्वपा पनि मध्यावधि निर्वाचन भइदियोस् भन्ने चाहनामा छ र अझ माथि उक्लने दाउमा छ । ऊ त बहुमत ल्याएर सरकार नै आफूले हाक्नुपर्ने भनी ‘मनको लड्डु घिउसित खान’ दौडिरहेको छ ।

एमालेले त भन्ने नै भयो, भनिरहेछ– एमाले सरकारमा नगई देश समृद्ध हुँदैन । अनि जस्तो कि २०७३ मा मेची महाकाली यात्रा गर्दा २०७४ मा ठुलो संसदीय दल बन्यो । अनि अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका यो वा त्यो यात्राका नाममा देश दौडाहा भइसकेका, भइरहेका र हुन लागेका अस्वाभाविक गतिविधि त देखिइसकिएको छ ।

नयाँ–पुराना संसदीय राजनीतिक दलहरू मिसन ८४ मा लागेका बखत राजतन्त्र र हिन्दूवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका सभाहरू राजा ल्याउन नै केन्द्रित छन् । नयाँ विकल्प भन्दै साझा विवेकशील पार्टी भन्दै हिँडिरहेको दल अहिले छिन्नभिन्न भएको छ । तिनैमध्येका आफूलाई निकै बौद्धिक र राजनीति बुझेको मान्ने, पत्रकारिताबाट राजनीतिमा काँचुली फेर्न पुगेका रवीन्द्र मिश्रसमेत राप्रपातिर सल्केर चर्को स्वरमा राजाको अपरिहार्यताबारे बोलेको सुन्दा हाँसो उठ्छ ।

पिता कलाकार मनुज मिश्र बहुदल विरोधी भएकाले उनका सुपुत्र त्यही बाटोमा जानु अस्वाभाविक नभए पनि आफू अनिर्वाचित व्यक्तिबाट शासित हुन किन मन गरे होलान् भनी सोध्न मन लाग्छ । खासगरी हालका राष्ट्रपतिका ससाना कमजोरी उजागर गरेर राजतन्त्रको आह्वान गर्दैमा राजतन्त्र आउने हैन ।

हैन भने मिसन ८४ मै लाग्नुपर्यो– अर्थात् अर्को आमनिर्वाचन । दुईतिहाइ नल्याई अहिलेका गणतन्त्रवादीले थपक्क किस्तीमा राजतन्त्र सुम्पँदैनन् भन्ने कुरा यी राजावादी । हिन्दूवादीले किन नबुझेका ? अनि राजतन्त्रको सवालबाट पछि हटिसकेका र सूर्य चिह्नबाट चुनाव लडिसकेका कमल थापाप्रवृत्तिले राजतन्त्र पुनःस्थापना गर्न आह्वान गरेका भरमा जनता सडकमा ओर्लन्छन् र भन्या ?

अँ, दुर्गा प्रसाईं जस्ता वैचारिक रूपले अस्थिर र आर्थिक कारोबारमा विवादास्पद व्यक्तिले भिड जम्मा गरेर राजतन्त्र पुनःस्थापना गर्न सक्ने पनि होइन । प्रायः सबै दल चाहारिसकेका उनको हालको आन्दोलनले केही तमासा त देखायो । तर, गणतन्त्रलाई धक्का मार्न सकेन ।

प्रधानमन्त्री र सत्तारुढ दलहरू आत्तिएका त हुन् तर प्रसाईं समूहको न कुनै दर्शन थियो । न त सङ्गठन नै । एमालेको युवा सङ्गठन नै प्रसाईं समूहविरुद्ध लागेपछि सरकारलाई एक खालको हाइसन्चो नै भयो नि । गोविन्द केसी जस्ता पटके अनसनधारीले पनि गणतन्त्रलाई केही लछारपाटो लगाउँदैन ।

राजनीतिक दलका नेताहरूको विलासिता, वैदेशिक भ्रमणहरूमा लोलुपता, राजकीय पदहरूमा आफन्तहरूलाई भागबन्डा, भ्रष्टाचार, महँगी, कालोबजारी, अनियमितता, भन्सार नाकाहरूमा अवैध आयातनिर्यात, राजनीति र प्रशासनमा लागेकाहरूविरुद्ध अदालतमा भइरहेका फैसला, विकासनिर्माणमा अति नै ढिलासुस्ती जस्ता विषय त छँदै छन्, त्यसमाथि नक्कली भुटानी नागरिक, ललिता निवास, सुन काण्डले झनै आगामा घिउ थपिदियो ।

मिटरब्याजी–वित्तीय संस्था–सहकारी पीडितहरूको सङ्घर्ष र शिक्षकहरूको आन्दोलनले पनि गणतन्त्रको रौंसमेत हल्लन सकेन । बरु सर्वहारा नेताकी नातिनीको धुमधामको विवाह जस्ता गतिविधिले भने ठुलो बलिदानले प्राप्त गणतन्त्रलाई गिज्याइरहेको छ ।

अहिले ‘बेला न कुबेला बजी नयला’ जस्तो गरी जनतालाई डेलिभरी दिने कुरा छाडेर चुनावी रमिता देखाउनुले दलहरूलाई कुनै राहत दिँदैन । मतपत्र, मतपेटिकासमेतले कल्पना नगरेको आमचुनावको कुरा (राष्ट्रियसभा र उपनिर्वाचन होइन) उठाउनाका साटो भूकम्प र महामारीले थिलथिलो पारेको अर्थतन्त्रलाई उकास्न, मुलुकमा रोजगारी वृद्धि गर्न, समयमा किसानलाई मलबिउ– सिँचाइ पुर्याउन, विद्यार्थीलाई कक्षा सुरु हुनुअगावै पाठ्यपुस्तक हातमा पार्न, हिउँदमा जाडो र वर्षामा बाढीपहिराबाट जोगाउन र राहत दिन, हत्या–हिंसा–अपराध कम गर्न, वैदेशिक आर्थिक सहायता–ऋण–अनुदान बढाएर पूर्वाधार विकास गर्न, परराष्ट्र नीतिलाई ठीक र सर्वसम्मत ढङ्गले चलाएर राष्ट्रिय हितलाई बढावा दिन दलहरूले किन नसोचेका ?

सत्तारुढ दल कांग्रेसकै संस्थापन विरोधीहरूलाई चाहिँ आवधिक महाधिवेशनअगावै सभापतिलाई संसदीय दलका नेताबाट हटाएर आफैँ सभापति र नेता बन्ने रहर र हुटहुटी छ यतिबेला । तत्कालीन अमेरिकी मन्त्री जेम्स फ्रिम्यान क्लार्कले ठीकै भनेका हुन्– एक राजनीतिकर्मी आगामी निर्वाचनबारे मात्र विचार गर्छ । तर, राजनेताले त नयाँ पुस्ताको भविश्यका बारेमा सोच्छ । हरे, हामीकहाँ राजनीतिक सन्देश यात्राका नाममा गीतसङ्गीत, नाचगान, मनोरञ्जन, उही आरोपप्रत्यारोप, उही कुण्ठा र अभिमान अनि आफ्नो दलको खोको श्रेष्ठताको भविष्यवाणीको खेती मात्र भयो । बन्द गर, गरौँ यी र यस्ता तमासाहरू ।

प्रतिक्रिया दिनुहोस्