Logo
Logo
कविता

प्रकृति छेक्दै


252
Shares

खोला –८
ए, बाटो छाड, बाटो छाड
म आउँदै छु इतिहासको हिसाबकिताब गर्न
मेरो पुर्खाको बाटो छाड

म प्रहार गर्छु अब तिम्रो सभ्यतालाई
जसले छुट्याउन सक्दैन माटो,
पानी र पानीको बाटो

प्रकृति छेक्दै
छाता ओढेर ढिम्केका छौँ किनारतिर
र मैले तिमीहरूले दिएको बौलाहा उपनाम सहनुपर्ने ?

छाड, छाड मेरो बाटो
म तिमीलाई पढाइदिन्छु हाम्रो इतिहास र संस्कृति
अनि बुझ्ने छौ आफू र भविष्यको भविष्य

जमिन नाप्न नजान्ने तिमीलाई
म देखाइदिन्छु अब मेरो सनकको पाइन
हेरिराख त्रिपुरको जग
कसरी तिम्रो सभ्यता भासिँदै भासिँदै गर्त खोजिरहे छ ।
२०८१ असोज १३–१५ (असोज १२ मा खोलाहरूको बितन्डापछि)

त्रिशूली
त्रिशूलधारा होइन, धर्मधारा होइन,
यहाँ अश्रुधारा बगेको छ हजारौँ निर्दाेष आँखाहरुबाट
हलाहल विषसँग के साइनो छ मनुष्यको
उसलाई त खतरा तुइन मात्र तर्नु छ,
भिरैैभिर हिँड्नु छ, दगर्नुछ र गुड्नुछ

बित्था छ तल बगिरहेको
कञ्चन, स्फटिक पानीको सोन्दर्य
ढकढक फुलिरहेको मुटु मिचेर पार गर्नुछ
छिटो छिटो जोगीमारा, कृष्णभिर र दासढुङ्गा

ओहो,
यहीँ खसेको छ
कैयौँ प्रेमी–प्रेमिका र आफन्तहरुको आत्मा र शरीर
जसको सम्झना मात्रले त्रिशूली बग्छ मुटुहरुबाट

नीलकण्ठ मस्तसँग लेटिरहेका छन् नीलखेतमा
उनको डाहभन्दा मान्छेका हजारौँ गुना पिर
त्रिशूलीको किनारमा उफ्रिन्छ

तपाईँ आँखा चिम्लँदै राम राम जपिरहेका
यात्रुहरुलाई सोध्नोस् त
‘कालकूटको पीडा गह्रौँ कि
त्रिशूलीको किनार भएर गुड्नु ?’

२०७३।०६।१५

प्रतिक्रिया दिनुहोस्