Logo
Logo

नेपालमा राष्ट्रपिताको खोजी


378
Shares

पञ्चायतकलामा राष्ट्रपिता भनेर राजा त्रिभुवनलाई सम्मान दिने गरिन्थ्यो । एकतन्त्री, जहानियाँ, निरङ्कुश राणातन्त्र अन्त्य गरी प्रजातन्त्र ल्याउन योगदान दिएको भनी उनलाई राष्ट्रपिता मानेर राष्ट्रिय विभूतिकै लहरमा राखिएको थियो ।

गणतन्त्र आगमनअघिसम्म सहिद दिवस, प्रजातन्त्र दिवस आदिमा भद्रकाली नजिक सहिद गेटमा चार सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन थियो । गणतन्त्रपछि सहिद ढोकाको महत्त्व घटेर लैनचौरस्थित सहिद उद्यानमा श्रद्धाञ्जली गर्ने चलन चल्यो । नेपालमा संविधान दिवसलाई राष्ट्रिय दिवस त मानियो तर राष्ट्रपिता को भन्ने घोषणा गरिएको छैन ।

भारतमा शासन गर्ने बेलायती साम्राज्यलाई धपाउन अहिंसाका माध्यमबाट मुख्य भूमिका खेलेका मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी नै राष्ट्रपिता मानिन्छन् । आधुनिक चीन निर्माता भनी चिनिने सन यात्सेन चीनका राष्ट्रपिता हुन्, जसका नेतृत्वमा दुई हजार वर्ष पुरानो छिङ वंशको राजतन्त्र अन्त्य भयो ।

अमेरिकी क्रान्ति, संवैधानिक परम्परा र प्रथम राष्ट्रपतिका रुपमा सेवा गरेका जर्ज वासिङ्टन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् । उनले क्रान्तिकारी युद्धमा सेनाको जनरल भएर पनि नेतृत्व गरेका थिए । रुसमा केन्द्रीकृत एकतन्त्र ल्याई युरोपेली राज्य प्रणालीमा प्रवेश गराउने रुसका पिटर महान् प्रथम राष्ट्रपिता हुन् । जर्मनीका ओटो भोन विस्मार्कले जर्मनीको एकीकरण गरेकाले उनी नै राष्ट्रपिता हुन् भने इटली एकीकरण गर्ने राजा भिक्टोर इम्यानुयल द्वितीय त्यहाँका राष्ट्रपिता हुन् ।

जँ ज्याक्स रुसो चाहिँ फ्रान्सेली क्रान्तिका पिता मानिन्छन् । यसरी हेरी ल्याउँदा प्रायः सबै देशमा राष्ट्रनिर्मातालाई नै राष्ट्रपिता मान्ने चलन छ । नेपाली आधुनिक राजतन्त्रको दसौँ पुस्ताका राजा त्रिभुवन राजपरिवारका सदस्य हुन् । प्रजातन्त्र ल्याउन उनको केही योगदान भए पनि मुख्य भूमिका नदेखिएकाले उनलाई वर्तमान गणतान्त्रिक राज्य प्रणालीमा राष्ट्रपिता मान्न सकिँदैन । त्यसो भए वर्तमान नेपालको संविधानअन्तर्गत गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थामा हामीले कसलाई राष्ट्रनिर्माता भनी मान्ने त ?

जसले करिब ५४ राज्यमा छरिएर रहेका विशाल नेपालको एकीकरणको सुरुआत गरे, नेपाली भन्ने समग्र जातीय पहिचान दिए, आर्थिक–सामाजिक–प्रशासनिक–कूटनीतिक दिव्योपदेश दिए, तिनी राष्ट्रपिताको हकदार हुन् कि ? यसो भन्दा गणतन्त्रवादीहरूले राजाहरूलाई किन मान्ने भन्ने प्रश्न पनि आउन सक्छ ।

जुनबेला पृथ्वीनारायण शाह यहाँ शासनमा थिए, त्यतिबेला बेलायती साम्राज्य आफ्नो राज्यमा घाम नअस्ताउने अभियान लिएर हिँडिरहेको थियो । सबभन्दा पहिले त उनले गोरखा राज्यमा आन्तरिक एकता चाहेका थिए, जनताको आवाजलाई प्राथमिकता दिने नीति अपनाएका थिए । त्यसैले आफूले बिराज बखेती चाहे पनि मूल काजी अर्थात् अहिलेको प्रधानमन्त्रीसरहको पदमा जनताले मन पराएको थाहा पाएर कालु पाँडेलाई कज्याइँ दिए ।

पृथ्वीनारायण शाहले विसं १८९१९ मा मिर कासिमको फौजलाई मकवानपुर र १८२४ मा इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वको फौजलाई सिन्धुलीगढीमा हराएका थिए । मुसलमान र अङ्ग्रेज सेनालाई हराएर नेपाल राज्य जोगाउन सक्ने उनलाई हामीले साम्राज्यवादी र विस्तारवादी भनेर गाली गर्न मिल्छ ? विसं १८७२ मा त हामीले अङ्ग्रेजसँगको लडाइँ लडेर पनि सुगौली सन्धि भएकाले तिन खण्डको एक खण्ड भूभाग गुमाउनुप¥यो । पछि राणाकलामा नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जोडिन आयो । इसाईहरुको उद्देश्य बुझेका उनले काठमाडौँ उपत्यकाबाट केपुचिन पादरीहरुलाई निष्काशन गरे ।

आफ्नो जीवनको अन्तिम कालमा उनले भाइभारदारलाई दिएको उपदेशमा मुलुकको आन्तरिक एकता, अखण्डतादेखि समृद्धिसम्मका समग्र विषय छ जसको पालनाले नेपाल राज्य युगौँसम्म स्वतन्त्र र स्वाधीन रहनाका साथै समृद्ध पनि हुने छ । “प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरू हुन् ” भन्ने उनको उपदेशमा जनतालाई केन्द्रविन्दुमा राखी शासन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । यहाँ दरबार, भन्डार भनेको राज्य र रैतान भनेको जनता हुन् ।

शासनसत्ता हातमा लिनेले जनताको सेवा गर्नु नै प्रमुख उद्देश्य हुनुपर्ने सो उत्तम उपदेशको मकसद हो । “मेरा साना दुःखले आज्र्याको मुलुका होइन । यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो ” भन्ने प्रसिद्ध कथन त समावेशी भावनाको उच्चतम भनाइ हो । मुलुक बनाउन अति नै परिश्रम पर्दाेरहेछ भन्नेमा जोड दिँदै उनले सबै वर्ग, जातजाति, भाषाभाषी, समुदाय, क्षेत्रको एकता नै राज्यको परिभाषा हुने जनाएका थिए ।

“अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।” भन्ने उपदेश मुलुकका सुशासन र न्यायका पक्षमा छन् । पृथ्वीनारायणलाई मान्नु भनेको भ्रष्टाचार र भ्रष्टाचारीमाथि कठोर कदम चाल्न प्रेरित गरेको छ ।

आर्थिक विषयमा पनि उनले प्रशस्तै बोलेका छन् । खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए त्यसलाई अरू जग्गामा सारी कुलो काटेर खेत बनाई आबाद गर्नू, कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनू, आफ्ना देशको जडिबुटि विदेश निर्यात गरी नगद कमाउनू भन्ने उपदेशले आफ्नो जग्गा र खानी जस्ता साधनस्रोतको उपयोग गर्ने, सिप सिकेर आय आर्जन गर्ने, नगदे बाली निर्यात गरेर वैदेशिक मुद्रा हात पार्ने तरिका सिकाएको छ ।

सन्तुलित परराष्ट्रनीति
क“यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ, थामी षानन्”, उनको अर्काे प्रख्यात कथन हो जसले नेपालको उपयुक्त परराष्ट्र नीतिको आत्मा नै बोल्छ । विशाल देश भारत र चिनका बिचमा रहेको नेपाललाई पृथ्वीनारायण शाहले तरुलको संज्ञा दिए । तरुललाई ढुङ्गाले चेप्ने सङ्केत गर्दै उनले दुवै छिमेकीसँग कूटनीतिक सम्बन्ध बढाई सकभर मित्रता कायम गर्नुपर्छ, निहुँ खोजेर हिँड्नु हुँदैन भन्ने सन्देश दिएका छन् ।

छिमेकीलाई चिढ्याएर नेपालको हित गर्न गाह्रो भएकाले दुवै छिमेकीसँग समदूरीको मित्रता कायम गरी देश जोगाएर खानू भन्ने उपदेशको गूढार्थ हो । हुन पनि हो, नेपालले दुवै छिमेकीसँग मित्रता बढाएर अघि बढ्दा नै नेपालको राष्ट्रियता सुरक्षित हुन सक्छ ।

नेपाल छिमेकीसँग चिढिँदा नेपालको हित हुँदैन । बेलाबेलामा नेपालको सरकारमा कहिले कुनै राजनीतिक दल त कहिले कुनै दल आउने र प्रधानमन्त्रीपिच्छे वैदेशिक सम्बन्ध अर्थात् परराष्ट्र नीति चलिआएको तिन दशक भइसकेको छ । यस्तो चलन अन्य प्रतिष्ठित मुलुकमा हुँदैन ।

नेपालको छिमेकीसँग पनि कूटनीतिक सम्बन्ध बिग्रिरहेको छ । दुवै छिमेकीले पनि सिमाना मामलामा नेपाललाई हेपेको देखिन्छ । पृथ्वीनारायण शाहकै नीति अवलम्बन गरेमा नेपाल अनन्तकालसम्म सुरक्षित र स्वतन्त्र रहन सक्छ ।

राजा महाराजा कसैलाई पनि राष्ट्रपिता मान्नुहुँदैन भन्ने हो भने अर्कै कुरा, नत्र जसले मुलुक बनाएर छाड्यो, उसैलाई घृणा गर्ने, थुक्ने प्रवृत्ति एकाथरीको छ । पृथ्वीनारायण राज्य विस्तारकै उद्देश्य लिएर गोरखाबाट हिँडेका भए पनि त एउटा स्वतन्त्र राज्य निर्माण गरेर नेपाली जाति र समुदायलाई सुम्पेर जानु कम महत्त्वको काम होइन ।

पृथ्वीजयन्तीका अवसरमा मुलुकको राष्ट्रिय अखण्डतालाई जोगाउने दूरदृष्टि कायम राख्न, बचकना परराष्ट्र नीति त्यागेर परिपक्व र गतिशील नीति बनाउन तथा आन्तरिक एकताका साथ समृद्धि हासिल गर्ने दिशामा लाग्न जनता र सरकार सबै पक्ष लाग्नुपर्छ । उनलाई मान्ने भनेको उनका उपदेशका ग्राह्य र व्यावहारिक पक्ष अपनाउनु हो, कुनै राजा महाराजा मान्नु मात्र होइन । राष्ट्रिय एकता दिवसका अवसरमा मात्र नभई पृथ्वी विचारमाथि सधैँ नै चिन्तन, मनन गर्नुपर्ने पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्